अमेरिकाको मिसिसिपीमा डरलाग्दो घुम्रपात( टोर्नाडो) : ५०० घर भत्किए, जनजीवन अस्तव्यस्त

इनेप्लिज २०८३ वैशाख २४ गते १६:५३ मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्यमा बुधबार राति आएको शक्तिशाली आँधी र ‘टोर्नाडो’ (घुम्रपात) ले ठूलो विनाश निम्त्याएको छ। 

अधिकारीहरूका अनुसार यस प्राकृतिक विपत्तिमा परेर झण्डै ५०० घरहरूमा क्षति पुगेको छ।

घुम्रपात( टोर्नाडो)यति शक्तिशाली थियो कि यसले ठूला-ठूला रुखहरू जरैदेखि उखेलेको छ र बिजुलीका खम्बाहरू ढालेको छ। 

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायका प्रवक्ता स्कट सिमन्सका अनुसार अहिलेसम्म कोही पनि व्यक्तिको मृत्यु भएको खबर छैन, तर कम्तीमा १७ जना घाइते भएका छन्।

लिनकन काउन्टीको ‘बोग चिट्टो’ भन्ने सानो बस्तीमा रहेको एउटा ट्रेलर पार्क (घरका रूपमा प्रयोग गरिने गुड्ने घरहरू भएको ठाउँ) मा आँधीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ। 

घाइते भएका १७ मध्ये १२ जना त यही ठाउँका हुन्। एपिका अनुसार त्यहाँका एक स्थानीय बासिन्दा म्याक्स महाफेले आफ्नो अनुभव सुनाउँदै भने, “म ओछ्यानमा बसेर टिकटक हेर्दै थिएँ, ठूलो गर्जन सुनियो। म बैठक कोठामा गएर फर्कँदा त मेरो कोठा नै हराइसकेको थियो (हावाले उडाएको थियो)।” उनी त जोगिए, तर उनकी हजुरआमाको खुट्टामा चोट लागेको छ र अन्य छिमेकीहरू पनि घाइते भएका छन्।

मौसम विभागले यसलाई “अत्यन्तै ठूलो र खतरनाक टोर्नाडो” अर्थात घुम्रपात भनेको छ। मिसिसिपीका गभर्नर टेट रिभ्सले राज्यका विभिन्न ठाउँमा यस्ता धेरै आँधीहरू आएको र सरकारी टोलीहरू पीडितको सहयोगका लागि खटिएको जानकारी दिएका छन् ।

अहिले प्रभावित क्षेत्रमा बिजुली काटिएको छ र भत्किएका संरचनाहरू हटाउने काम भइरहेको छ।

प्रतिक्रिया