इरान युद्ध समाप्त हुने आशा: तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा उछाल

शान्तिको संकेतले बजारमा उत्साह: इन्धनको मूल्यमा उच्च गिरावट

इनेप्लिज २०८३ वैशाख २४ गते ११:२१ मा प्रकाशित

बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ भने एसियाली सेयर बजार, विशेष गरी टोकियोको निक्केई सूचकमा उच्च वृद्धि देखिएको छ। इरान युद्ध छिट्टै समाप्त हुन सक्ने र आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) कृतिम बुद्धिमत्ताको बढ्दो मागका कारण लगानीकर्ताहरूमा उत्साह छाएको हो।

अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य भएमा मार्च महिनादेखि बन्द रहेको ‘हर्मुज जलसन्धि’ पुनः खुल्ने विश्वास गरिएको छ। यो जलमार्गबाट विश्वको कुल कच्चा तेलको पाँचौँ हिस्सा ओसारपसार हुने गर्दछ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार एक सम्झौता नजिक पुगेको बताएपछि बजारमा यो सकारात्मक परिवर्तन आएको हो।

राष्ट्रपति ट्रम्पका अनुसार यदि इरानले सहमति जनाएमा युद्ध समाप्त हुनेछ, अन्यथा फेरि निकै कडा रूपमा आक्रमण सुरु गरिनेछ। उनले पछिल्लो २४ घण्टामा भएका कुराकानीहरू सकारात्मक रहेको र सम्झौता हुने सम्भावना बलियो रहेको बताएका छन्। यता इरानको विदेश मन्त्रालयले अमेरिकी प्रस्ताव अझै “समीक्षाको क्रममा” रहेको जानकारी दिएको छ।

यही आशाका कारण बिहीबार तेलको मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ। पछिल्लो दुई दिनमा मात्रै तेलको मूल्य १० प्रतिशतले घटिसकेको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ।

प्रतिक्रिया