एप्पलले तिर्नुपर्ने भयो २५ करोड डलर जरिवाना: आइफोन प्रयोगकर्ताले पैसा फिर्ता पाउने

झूटो विज्ञापनको आरोप:आइफोन १५ र १६ किन्ने ग्राहकलाई ९५ डलरसम्म फिर्ता

इनेप्लिज २०८३ वैशाख २४ गते १०:५० मा प्रकाशित

संसारकै प्रख्यात प्रविधि प्रतिष्ठान (कम्पनी) एप्प ले २५ करोड अमेरिकी डलर अर्थात् २५० मिलियन डलर क्षतिपूर्ति तिर्ने सहमति गरेको छ। एप्पलमाथि आफ्ना नयाँ आइफोन(घुम्ती उपकरण)हरूमा “आर्टिफिसियल इन्टेलिजेन्स” अर्थात कृतिम बुद्धिमत्ताका सुविधाहरू छन् भनेर झूटो प्रचार गरेको आरोप लागेको थियो।

अदालतमा दर्ता गरिएको मुद्दाका अनुसार, एप्पलले आइफोन १५ र १६ को विज्ञापन गर्दा ‘सिरी’ले धेरै नयाँ कामहरू गर्न सक्छ भनेर प्रचार गरेको थियो। तर, ग्राहकहरूले ती सुविधाहरू घुम्ती उपकरण (फोन)मा नभएको वा विज्ञापनमा देखाइए जस्तो काम नगरेको गुनासो गरे। विशेषगरी, सन् २०२४ जुनदेखि २०२५ मार्चसम्म संचार उपकरण (आइफोन) किन्ने ग्राहकहरूले आफूहरू ठगिएको महसुस गरेका थिए।

यो मुद्दा सुल्झाउन एप्पलले अब प्रति घुम्ती यन्त्र (फोन )९५ डलर सम्म ग्राहकलाई फिर्ता दिने भएको छ। यो पैसा पाउनका लागि केही सर्तहरू छन् । आइफोन १५ प्रो, १५ प्रो म्याक्स वा आइफोन १६ शृंखलाका घुम्तीयन्त्र (फोन)हरू हुनुपर्छ। साथै घुम्ती यन्त्र (फोन)हरू अमेरिकामा किनेको हुनुपर्छ।

एप्पलले आफूले कुनै गल्ती नगरेको दाबी गरेको छ। प्रतिष्ठानका अनुसार उनीहरूले सुरुदेखि नै कृतिम बुद्धिमत्ताका सुविधाहरू बिस्तारै अध्यावधिक (अपडेट)मार्फत आउँछन् भन्दै आएका थिए। एप्पलले ‘भिजुअल इन्टेलिजेन्स’ र ‘लाइभ ट्रान्सलेसन’ अर्थात् ‘दृष्य बुद्धिमत्ता’ तथा ‘प्रत्यक्ष अनुवाद’ जस्ता धेरै सुविधाहरू दिइसकेको पनि बताएको छ।

तर, कानुनी झमेलामा अल्झिरहनु भन्दा ग्राहकसँगको यो विवाद टुङ्ग्याउनु नै राम्रो हुने ठानेर एप्पल यो ठुलो रकम तिर्न तयार भएको हो। यो सम्झौताले अब झन्डै ३ करोड ७० लाख आइफोन प्रयोगकर्ताहरूलाई फाइदा पुग्न सक्ने देखिएको छ।

तस्बिर : कृतिम बुद्धिमत्ता ,जेमानाइ

प्रतिक्रिया