
विश्वको पहिलो २४ घण्टे न्युज च्यानल ( सॅचार माध्यम)सिएनएनका संस्थापक तथा चर्चित सञ्चार उद्यमी टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ।
टर्नर इन्टरप्राइजेजले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो।
टर्नर लामो समयदेखि ‘लेवी बडी डिमेन्सिया’ (मस्तिष्क सम्बन्धी समस्या) बाट पीडित थिए। उनले सन् २०१८ मा आफूलाई यो रोग लागेको खुलासा गरेका थिए।
टेड टर्नरले सन् १९८० मा सिएनएनको स्थापना गरेर संसारभर समाचार हेर्ने तरिका बदलिदिएका थिए। त्यो समयमा २४ सै घण्टा समाचार दिने सोच कसैको थिएन।
सिएनएनका वर्तमान अध्यक्ष मार्क थम्पसनले उनलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, “टेड एक निडर र साहसी नेता थिए। उनी सधैं आफ्नो निर्णयमा विश्वास गर्थे। सिएनएन सधैं उनको भावना र मार्गनिर्देशनमा चल्नेछ।”
टर्नर केवल सञ्चारमा मात्र सीमित थिएनन्। उनी एक सफल खेलाडी र प्रकृति प्रेमी पनि थिए। सन् १९७७ मा उनले ‘अमेरिकाज कप’ नामको डुङ्गा दौड प्रतियोगिता जितेका थिए।
उनले अमेरिकाको प्रसिद्ध बाइसन (जङ्गली भैंसी) संरक्षणका लागि हजारौँ एकड जमिन दान गरेका थिए। साथै, उनी एटलान्टा ब्रेभ्स (बेसबल) र एटलान्टा हक्स (बास्केटबल) जस्ता चर्चित खेल टोलीका मालिक समेत थिए।
सिविएसन्यूजका अनुसार आफ्नो हक्की स्वभाव र स्पष्ट विचारका कारण उनी निकै चर्चित थिए। उनी ‘माउथ फ्रम द साउथ’ र ‘क्याप्टेन आउटरेजियस’ जस्ता उपनामले पनि चिनिन्थे।
उनले तीन पटक विवाह गरेका थिए, जसमा प्रसिद्ध अभिनेत्री जेन फोन्डासँगको १० वर्ष लामो वैवाहिक सम्बन्ध निकै चर्चामा रहेको थियो।
टेड टर्नरको निधनले विश्व सञ्चार जगतलाई ठुलो क्षति पुगेको छ।
प्रतिक्रिया