
अमेरिकाले पाकिस्तानको पेशावरमा रहेको आफ्नो वाणिज्य दूतावास चरणबद्ध रूपमा बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश बिभागका अनुसार अब त्यहाँका सबै कूटनीतिक कार्यहरू राजधानी इस्लामावादमा रहेको अमेरिकी दूतावासमा सारिनेछ।
आफ्ना कर्मचारीहरूको सुरक्षा र आर्थिक स्रोतको सही व्यवस्थापनका लागि यो निर्णय लिइएको अमेरिकाले बताएको छ। यो कार्यालय बन्द गर्दा अमेरिकी सरकारको वार्षिक ७५ लाख डलर बचत हुने अनुमान गरिएको छ। यसअघि इरान र इजरायल-अमेरिका बीचको युद्धका कारण कराँचीमा रहेको अमेरिकी दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गर्ने प्रयास गरेका थिए ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनको भ्रमण गरी आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा इरानी विदेशमन्त्रीले मध्यपूर्वमा शान्ति स्थापनाका लागि चीनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले राजनीतिक संकटलाई सैन्य बलले समाधान गर्न नसकिने कुरामा जोड दिए । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि मध्यपूर्वमा शान्ति फर्काउन चीन तयार रहेको र तत्काल युद्ध रोकेर वार्ताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया