अमेरिकी कदमको पाकिस्तानद्वारा स्वागत: युद्धको जोखिम टार्न ट्रम्पको ठूलो निर्णय

प्रधानमन्त्री सरिफका अनुसार यो निर्णय अचानक भएको होइन

इनेप्लिज २०८३ वैशाख २३ गते १०:२८ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा विशेष निर्णयको खुलेर प्रशंसा गरेका छन् । बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै सरिफले ट्रम्पलाई धन्यवाद दिएका हुन् ।

अमेरिकाले ‘स्ट्रेइट अफ हर्मुज’ (हर्मुज जलडमरू) क्षेत्रमा ‘प्रोजेक्ट फ्रिडम’ अर्थात् स्वतन्त्रता अभियान नामक एउटा सैन्य वा सुरक्षा अभियान चलाउने तयारी गरेको थियो। तर, हाललाई राष्ट्रपति ट्रम्पले यो अभियान रोक्ने निर्णय गरेका छन् । प्रधानमन्त्री सरिफले ट्रम्पको यो कदमलाई “साहसी नेतृत्व र समयसापेक्ष घोषणा” भन्दै स्वागत गरेका छन् ।

प्रधानमन्त्री सरिफका अनुसार यो निर्णय अचानक भएको होइन। पाकिस्तान, साउदी अरब र अन्य मित्र राष्ट्रहरूले यस क्षेत्रमा तनाव बढ्न सक्ने भन्दै अमेरिकालाई यो अभियान रोक्न आग्रह गरेका थिए। ती देशहरूको अनुरोधलाई स्वीकार गर्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ लाई स्थगित गरिदिएपछि यसले सकारात्मक सन्देश दिएको छ।

प्रधानमन्त्री सरिफले यो निर्णयले यस संवेदनशिल समयमा क्षेत्रीय शान्ति, स्थिरता र मेलमिलापलाई अगाडि बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले लेखेका छन् “पाकिस्तान सधैं संयमता अपनाउने र कुनै पनि विवादलाई युद्धबाट नभई वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा दृढ छ।”

यस क्षेत्रमा लामो समयदेखि तनावको वातावरण थियो। तर, अमेरिकाको यो पछिल्लो कदमले अब दिगो शान्तिको ढोका खुल्ने अपेक्षा गरिएको छ। सरिफले वर्तमान वातावरणले भविष्यमा यस्तो सम्झौताको रूप लिने आशा राखेका छन् , जसले यस क्षेत्रमा मात्र नभई विश्वभरि नै स्थायित्व ल्याउन सकोस्।

समुन्द्री मार्गमा हुन सक्ने सम्भावित सैन्य तनावलाई रोक्नका लागि पाकिस्तान लगायतका देशहरूको आग्रहमा अमेरिका पछि हटेको छ।

प्रतिक्रिया