नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति अमेरिका नेपाल मेडिकल फाउन्डेसनको गम्भीर आपत्ति: ३६ गैर-आवासीय नेपाली चिकित्सकलाई हटाएकोमा विरोध

इनेप्लिज २०८३ वैशाख २३ गते १:१८ मा प्रकाशित

अमेरिकाका विभिन्न राज्यहरुमा काम गर्दै आएका र बसोबास गर्ने र नेपाली चिकित्सकहरूको साझा संस्था ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ ले नेपाल मेडिकल काउन्सिल को पछिल्लो निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ।

नेपाल मेडिकल काउन्सिलले केवल विदेशी नागरिकता लिएको आधारमा ३६ जना गैर-आवासीय नेपाली चिकित्सकहरूको नाम दर्ता पुस्तिकाबाट हटाउने निर्णय गरेपछि एएनएमएफले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

एएनएमएफले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ , नेपालको नियामक निकायको अधिकारलाई सम्मान गरे पनि, दक्ष चिकित्सकहरूलाई नागरिकताका आधारमा मात्रै हटाउनु नेपालको संवैधानिक भावना विपरीत छ।

यस निर्णयबाट प्रभावित भएका ३६ जना चिकित्सकहरू आफू बसेका देशहरूमा पूर्ण रूपमा योग्य र अनुमति प्राप्त (लाइसेन्स )प्राप्त विशेषज्ञहरू हुन्। उनीहरूमध्ये धेरैजना त यस्ता विशेषज्ञ हुन्, जसको सेवा नेपालमा सहजै उपलब्ध छैन। उनीहरूलाई कुनै व्यावसायिक गल्ती वा नैतिकताको कमीका कारण नभई, केवल उनीहरूको नागरिकताको स्थितिलाई हेरेर हटाइएकोमा एएनएमएफले आपत्ति प्रकट गरेको छ।

संस्थाका अनुसार यो निर्णयले विश्वभर छरिएर रहेका नेपाली चिकित्सकहरूमा नकारात्मक सन्देश गएको छ। धेरै एनआरएन चिकित्सकहरूले नेपालमा आएर बिरामीको उपचार गर्ने, स्थानीय चिकित्सकहरूलाई तालिम दिने र अनुसन्धानमा सहयोग गर्दै आएका छन्। यस्तो कडा निर्णयले भोलिका दिनमा विदेशमा रहेका नेपाली चिकित्सकहरूको नेपालप्रतिको लगाव घट्न सक्ने र चलिरहेका स्वास्थ्य कार्यक्रमहरू समेत बन्द हुन सक्ने जोखिम बढेको छ।

एएनएमएफका मागहरू:

यस समस्याको न्यायोचित समाधानका लागि एएनएमएफले तीनवटा मुख्य मागहरू राखेको छ:

हटाइएका ३६ जना चिकित्सकहरूको नाम दर्ता तत्काल पुनः कायम गरियोस्।
नागरिकताकै आधारमा चिकित्सकहरूलाई हटाउने काम तत्काल रोखियोस्।
विदेशमा रहेका नेपाली चिकित्सकहरूको सहभागिताका लागि एउटा पारदर्शी नियम बनाउन एनआरएन प्रतिनिधिहरूसँग छलफल गरियोस्।

एएनएमएफका अध्यक्ष डा. विष्णु सापकोटाद्वारा हस्ताक्षरित यस विज्ञप्तिमा, नेपालको स्वास्थ्य क्षेत्रको हितका लागि यो मुद्दालाई सकारात्मक र न्यायपूर्ण तरिकाले टुङ्ग्याउन आग्रह गरिएको छ।

प्रतिक्रिया