ट्रम्पद्वारा ‘स्वतन्त्रता परियोजना’ स्थगनको घोषणा: इरानसँगको कूटनीतिक सहमतिका लागि नयाँ मार्ग प्रशस्त

इनेप्लिज २०८३ वैशाख २३ गते ०:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सामुद्रिक अवरोध हटाउन सञ्चालित सैन्य कारवाही ‘प्रोजेक्ट फ्रिडम’ अर्थात् स्वतन्त्रता अभियानलाई तत्कालका लागि स्थगन गर्ने आश्चर्यजनक निर्णय गरेका छान । रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’ समुन्द्री जलडमरुबाट व्यापारिक पानीजहाजहरूलाई अमेरिकी नौसेनाको सुरक्षा घेराभित्र सुरक्षित अवतरण गराउने उद्देश्यले सुरु गरिएको यो अभियानलाई इरानसँगको सम्भावित सहमतिका लागि केही समयका लागि थाँती राखिएको हो।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको यस घोषणामा राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता अन्तिम र निर्णायक बिन्दुमा पुग्न लागेकाले यो कदम चालिएको उल्लेख गरेका छन् । राष्ट्रपतिका अनुसार यो स्थगन मित्र राष्ट्र पाकिस्तान र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको विशेष आग्रह तथा इरानविरुद्धको सैन्य अभियानमा हालसम्म प्राप्त ‘प्रचण्ड सफलता’ पछिको नयाँ कूटनीतिक पहल हो। राष्ट्रपतिले इरानका प्रतिनिधिहरूसँगको संवादमा उल्लेख्य प्रगति भएको दाबी गर्दै दुवै पक्षबीच एउटा पूर्ण र अन्तिम सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् ।

तर, यो सैन्य विरामलाई ह्वाइट हाउसले इरानप्रतिको नरम नीतिका रूपमा नलिन स्पष्ट पारेको छ। राष्ट्रपति ट्रम्पले अभियान रोकिए तापनि इरानमाथि लगाइएको कडा समुद्री नाकाबन्दी भने पूर्ण रूपमा प्रभावकारी रहने बताएका छन् । यो स्थगन केवल ‘प्रोजेक्ट फ्रिडम’ अर्थात् ‘स्वतन्त्रता परियोजना’अन्तर्गतका जहाजहरूको आवागमनमा मात्र सीमित रहने र यस अवधिमा इरानको व्यवहार र सम्झौताको प्रगतिको सूक्ष्म निगरानी गरिने अमेरिकी प्रशासनको बुझाइ छ।

अमेरिकी विदेशसचिव मार्को रुबियोले ‘प्रोजेक्ट फ्रिडम’ लाई इरानविरुद्धको युद्धको एक निर्णायक र महत्त्वपूर्ण चरण भन्दै सञ्चारकर्मीहरूलाई बताएका थिए । आइतबार घोषणा भएको यो महत्वाकांक्षी परियोजनाले सोमबारदेखि नै काम सुरु गरिसकेको थियो, जसअन्तर्गत अमेरिकी जलसेनाले दुईवटा विशाल जहाजहरूलाई जोखिमपूर्ण मार्गबाट सुरक्षित रूपमा बाहिर निकालेको थियो।

अहिलेका लागि युद्ध र आक्रमणभन्दा पनि वार्ता र सम्झौतालाई प्राथमिकता दिइएको देखिन्छ। यदि इरानसँगको यो सम्झौता सफल भएमा विश्व बजार र समुद्री व्यापारमा देखिएको अवरोध हट्ने विश्वास गरिएको छ।

प्रतिक्रिया