
अध्यात्म र भक्तिको सुगन्ध फैलाउन भारतको पवित्र भूमि वृन्दावनबाट प्रभावशाली कथा वाचिका देवी प्रतिभाजी पहिलो पटक अमेरिका आइपुग्नुभएको छ। नेपाली मूलकी चेली तथा विश्वभरका भक्तहरू माझ लोकप्रीय देवी प्रतिभाजीलाई स्वागत गर्न अमेरिकाको मेरिल्याण्डस्थित नेपाली समुदाय र आध्यात्मिक प्रेमीहरू निकै उत्साहित देखिएका छन्।
गत मे ४, सोमबारका दिन वाशिंगटन डिसीस्थित विमानस्थलमा अवतरण गर्नुभएकी उहाँलाई भव्य स्वागत गरियो। स्वागतका लागि इस्कन मन्दिर (पोटोम्याक) का पण्डित लक्ष्मण भण्डारी, कार्यक्रम व्यवस्थापन गर्ने वेलडन क्रिएसनका शंकर घिमिरे, पण्डित राजेन्द्र खनाल, डा. योगेन्द्र बलारा र सोनिया बलारा लगायतका भक्तजनहरू विमानस्थल पुग्नुभएको थियो।

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित पोटोम्याकमा रहेको प्रख्यात इस्कन मन्दिर (हरे कृष्ण मन्दिर) मा देवी प्रतिभाजीले पहिलो पटक ‘श्रीमद्भागवत कथा’ वाचन गर्नुहुनेछ। यो विशेष आध्यात्मिक उत्सव आगामी मे ७ तारिख देखि मे १० तारिखसम्म चल्नेछ।
कार्यक्रमको पहिलो दिन (मे ७) बिहान विशेष ‘कलश यात्रा’ निकालिनेछ। कलश यात्रामा सहभागी भएर धर्म र पुण्य कमाउन आयोजकले सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्।
कथा वाचनको समय तालिका:
मे ७ (बिहीबार):बिहान १० देखि १२ बजे र दिउँसो ४ देखि बेलुका ८:३० सम्म (कलश यात्रा र कथा सुरु)
मे ८ (शुक्रबार): दिउँसो ४ देखि बेलुका ८:३० सम्म
मे ९ (शनिबार):बिहान १० देखि दिउँसो २ बजे र दिउँसो ४ देखि बेलुका ८ सम्म
मे १० (आइतबार): बिहान १० देखि दिउँसो २ बजे र दिउँसो ४ देखि बेलुका ८ सम्म
देवी प्रतिभाजी आफ्नो सरल तर मनछुने कथा वाचन शैलीका लागि चिनिनुहुन्छ। उहाँले सुनाउने भगवानका लीलाहरूले मानिसको मनमा शान्ति र सकारात्मक ऊर्जा भर्ने विश्वास गरिन्छ। मेरिल्याण्डको कार्यक्रम सकिएपछि उहाँले न्यूयोर्क, ह्यारिसबर्ग, ओहायो, अस्टिन र बाल्टिमोरमा पनि कथा वाचन गर्नुहुनेछ।

भक्तजनहरूले 10310 Oaklyn Dr, Potomac, MD 20854 मा रहेको मन्दिरमा पुगेर यो पवित्र अवसरको लाभ उठाउन सक्नेछन्। सहयोग गर्न चाहनेहरूका लागि चेक, भेन्मो वा जेल (Zelle) मार्फत दान गर्ने सुविधा पनि मिलाइएको छ। थप जानकारीका लागि पण्डित लक्ष्मण भण्डारी र प्रेमजीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
अध्यात्ममा रुचि राख्ने सबैका लागि यो एक सुनौलो अवसर हो। आउनुहोस्, हामी सबै मिलेर भागवत कथाको यो दिव्य सागरमा डुबुल्की मारौँ!
प्रतिक्रिया