क्यारिबियन सागरमा अमेरिकी हमला: लागू औषध तस्करीमा संलग्न दुई जनाको मृत्यु

लागू औषध तस्करी आक्रमणमा मर्नेहरुको संख्या कूल १८९ पुग्यो

इनेप्लिज २०८३ वैशाख २२ गते १०:४७ मा प्रकाशित

अमेरिकी सेना अन्तर्गतको युएस साउदर्न कमाण्डले क्यारिबियन सागरमा एक डुंगामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ। यो घटना मे ४ मा भएको बताइएको छ।

साउथकमका अनुसार उक्त डुंगा लागुऔषध तस्करीमा संलग्न थियो। प्राप्त गुप्त सूचनाका आधारमा डुंगा क्यारिबियन क्षेत्रमा लागुऔषध ओसारपसार गर्ने बाटोमा रहेको पुष्टि भएको थियो।

साउथकमले जनाए अनुसार आक्रमणमा मारिएका दुई जना पुरुष लागुऔषध तस्करीमा संलग्न अपराधी थिए। यो कारबाहीका क्रममा कुनै पनि अमेरिकी सैनिकलाई क्षति नभएको पनि जानकारी दिइएको छ।

यस घटनाको श्रब्यदृश्य (भिडियो )समेत सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको छ। उक्त श्रब्यदृश्य (भिडियो)मा डुंगामाथि गरिएको आक्रमण देखाइएको बताइएको छ।

यो हमला अमेरिकी सेनाले चलाइरहेको दक्षिण क्षेत्रमा लक्षित कडा सैन्य अभियान अन्तर्गत भएको हो। यस कारवाहीको मुख्य उद्देश्य लागुऔषध तस्करी रोक्नु र समुद्री मार्ग सुरक्षित बनाउनु हो।

एबिसीन्यूजका अनुसार, यस कारवाही अन्तर्गत अहिलेसम्म अमेरिकी आक्रमणमा कम्तीमा १८९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया