बङ्गालमा ममताको १५ वर्षे साम्राज्य अन्त्य: भाजपालाई चुपचाप कमल छाप ,ममता बनर्जीको हारका ६ मुख्य कारणहरू

नेपालको जस्तै परिवर्तनको पक्षमा बङ्गाली जनता: भाजपाको ऐतिहासिक विजय

विजय थापा २०८३ वैशाख २२ गते १:२० मा प्रकाशित

नेपालमा फागुन २१ मा सम्पन्न चुनाव झैँ पश्चिम बङ्गालको राजनीतिमा मे ४ का दिन ठूलो ऐतिहासिक परिवर्तन आएको छ। नेपाली जनताले परिवर्तन खोजे झैँ बङ्गाली जनताले पनि १५ वर्षदेखि सत्तामा रहेको ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसलाई बिदा दिए ।

तृणमूल कांग्रेस पराजित गर्दै भारतीय जनता पार्टी(दल)ले पहिलोपटक राज्यमा भारी बहुमतका साथ विजय हासिल गरेको छ।

पश्चिम बङ्गाल विधानसभा चुनाव २०२६ को नतिजाले सबैलाई आश्चर्यचकित पारेको छ। भाजपाले राज्यका २९४ सिटमध्ये २०६ सिट जित्दै इतिहासमै पहिलोपटक स्पष्ट बहुमत प्राप्त गरेको छ। अर्कोतर्फ, मुख्यमन्त्री ममता बनर्जीको पार्टीले यसपटक ठूलो धक्का बेहोरेको छ। ममता बनर्जी स्वयम् आफ्नो बलियो गढ मानिने भवानीपुर सिटबाट भाजपाका शुभेन्दु अधिकारीसँग करिब १५,००० मतको अन्तरले पराजित भएकी छन् ।

गत २०२१ को चुनावमा २१५ सिट जितेको तृणमूल कांग्रेस यसपटक करिब ८० सिटमा खुम्चिएको छ। यसरी हेर्दा उहाँको पार्टीले १०० भन्दा बढी सिट गुमाएको छ, जसलाई राजनीतिक विश्लेषकहरूले ममता बनर्जीको ‘राजनीतिक सन्यास’ को संकेतका रूपमा पनि व्याख्या गरेका छन्।

ममता बनर्जीको हारका ६ मुख्य कारणहरू:

१. कडा एन्टि-इन्कम्बेन्सी (सत्ता विरोधी लहर): लगातार १५ वर्ष सत्तामा रहँदा तृणमूल कांग्रेसका कार्यकर्ता र स्थानीय नेताहरूविरुद्ध जनतामा व्यापक असन्तुष्टि थियो। ‘कट-मनी’ (कमिसन) संस्कृति र सिन्डिकेट राजले गर्दा सर्वसाधारण जनता परिवर्तनको पक्षमा उभिए।

२. सुरक्षा र भ्रष्टाचारका मुद्दा: आर.जी. कर मेडिकल कलेज(चिकित्सा शास्त्र )को घटना र महिला सुरक्षासँग सम्बन्धित अन्य मुद्दाहरूले ममता बनर्जीको छविमा गहिरो चोट पुर्‍यायो। यसका साथै भ्रष्टाचारका विभिन्न आरोपहरूले शिक्षित र युवा मतदाताहरूलाई दलबाट टाढा बनायो।

३. मतदाता सूचीको परिमार्जन (एसआइआर ):निर्वाचन आयोगले गरेको ‘स्पेशल इन्टेन्सिभ रिभिजन’ अर्थात् ‘विशेष सघन पुनरावलोकन’ का क्रममा ९१ लाख फर्जी मतदाताहरूको नाम हटाइएको थियो। यस प्रक्रियाले गर्दा तृणमूलको परम्परागत मत गोटी (भोट बैंक)मा ठूलो असर परेको मानिएको छ।

४. हिन्दु मतको ध्रुवीकरण:भाजपाले राज्यमा हिन्दु मतदाताहरूलाई एकताबद्ध गर्न सफल भयो। शुभेन्दु अधिकारीजस्ता प्रभावशाली नेताहरूले हिन्दु पहिचान र विकासको मुद्दालाई जोडतोडका साथ उठाउँदा भाजपाको पक्षमा जनलहर सिर्जना भयो।

५. केन्द्र सरकारको प्रभाव र विकासको वाचा: प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहको लगातारको प्रचारप्रसार र केन्द्रका जनकल्याणकारी योजनाहरू (जस्तै: सातौँ तलब आयोग लागू गर्ने वाचा) ले सरकारी कर्मचारी र युवाहरूलाई आकर्षित गर्‍यो।

६. महिला मतदाताहरूको झुकावमा परिवर्तन:विगतमा महिलाहरू ममता बनर्जीका ठूला समर्थक थिए, तर यसपटक सुरक्षाको चिन्ता र रोजगारीको अभावका कारण धेरै महिला मतदाताहरूले भाजपाको ‘सुरक्षित बङ्गाल’ को नारालाई विश्वास गरेको देखिन्छ।

यस चुनावी नतिजाले पश्चिम बङ्गालको राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ, जहाँ ममता बनर्जीको १५ वर्षे विरासत अन्त्य भएको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया