अमेरिकाद्वारा इरानको शान्ति प्रस्ताव अस्वीकार: आणविक हतियार मुख्य अवरोध

समुद्री बाटोमा इरानको दादागिरी चल्दैन: अमेरिकी विदेशसचिव मार्को रुबियो

इनेप्लिज २०८३ वैशाख १५ गते १०:२२ मा प्रकाशित

अमेरिकी विदेशसचिव मार्को रुबियोले इरानले अघि सारेको शान्ति प्रस्तावलाई अस्वीकार गरेका छन् । फक्स न्युजसँगको कुराकानीमा उनले इरानको सर्तहरू अमेरिकाले राखेका मागहरू भन्दा निकै फरक रहेको बताएका छन् । अहिले अमेरिका र इरानबीचको तनावपूर्ण अवस्था तेस्रो महिनामा प्रवेश गरेको छ।

इरानको प्रस्ताव के थियो?

इरानले एउटा प्रस्ताव पठाउँदै ‘स्ट्रेट अफ हर्मोज’ (विश्वको महत्त्वपूर्ण समुद्री मार्ग) मा आफ्नो नियन्त्रण अलि खुकुलो बनाउने र त्यसको बदलामा अमेरिकाले लगाएको आर्थिक नाकाबन्दी हटाउनुपर्ने माग गरेको थियो। इरानले आफ्नो आणविक कार्यक्रम (परमाणु हतियार बनाउने काम) को बारेमा भने पछि मात्रै छलफल गर्ने बताएको थियो।

विदेशसचिव रुबियोले आणविक मुद्दा नै यो विवादको मुख्य जड भएको बताए । उनले भने , “हामी अहिले जुन अवस्थामा छौँ, त्यसको मुख्य कारण नै इरानको आणविक कार्यक्रम हो। यसलाई पछि छलफल गर्ने कुरा अमेरिकालाई स्वीकार्य छैन।”

साथै, समुद्री मार्गका बारेमा रुबियोले कडा शब्दमा भने ,समुद्रको बाटो अन्तर्राष्ट्रिय सम्पत्ति हो। इरानले त्यहाँबाट हिँड्ने जहाजहरूसँग पैसा (टोल ट्याक्स) उठाउने वा कसलाई जान दिने र कसलाई नदिने भन्ने निर्णय गर्न पाउँदैन। अमेरिकाले यस्तो व्यवहार सहन नसक्ने उनले प्रस्ट पारे ।

इरानभित्रको अन्योल :

रुबियोले इरानका नयाँ सर्वोच्च नेता मुज्तवा खामेनीको शक्ति र स्वास्थ्यका बारेमा पनि प्रश्न उठाए । उनले भजने , “खामेनी जीवित भएको सङ्केत त छ, तर के उनीसँग आफ्ना पिताको जस्तो शक्ति र विश्वास छ त? त्यो शङ्कास्पद छ।”

उनका अनुसार इरानले पठाएको यो शान्ति प्रस्तावलाई त्यहाँका सबै नेताहरूले समर्थन गरेका छन् कि छैनन् भन्नेमा पनि अमेरिका विश्वस्त छैन। इरानका विभिन्न गुटहरूबीच नै कसले निर्णय गर्ने भन्ने लुछाचुँडी भइरहेको रुबियोको बुझाइ छ।

अन्त्यमा, रुबियोले इरान अहिले आफू फसेको अप्ठ्यारो अवस्थाबाट निस्कन त चाहन्छ, तर उसले अघि सारेका सर्तहरू पर्याप्त नभएको उल्लेख गरे ।

प्रतिक्रिया