
डि पी ढुंगेल
देश बनाउने र विकास गर्ने जिम्मा राजनीतिक दलहरू नेताहरू मन्त्रीहरू सांसदहरू भन्दा पनि कर्मचारीतन्त्रको बढी संलग्नता तथा सहभागिता रहन्छ । कर्मचारीतन्त्रलाई स्थायी सरकार भनिन्छ भने राजनीतिक दलहरू निश्चित अवधिका लागि सरकारमा रहन्छन्। कर्मचारीतन्त्रमा योग्य क्षमतावान दूरदृष्टि तालिम प्राप्त जनशक्तिहरू हुन्छन् भने राजनीति तन्त्रमा त्यति योग्यता र क्षमता देखिँदैन । विश्वका विकसित मुलुकहरू मा देशको विकास का लागि कर्मचारीतन्त्र तथा राष्ट्रसेवक सबैजना संविधान अनुसार विधिविधान अनुसार कार्य सम्पादन गर्ने गर्दछन् । राजनीतिक दल सरकार भन्दा पनि कानुन र संविधान ठूलो हो। कानुनको नजरमा सबै बराबर हुन्। देशको मूल कानुन नै संविधानलाई मानिन्छ । छिमेकी मुलुक भारत र चीनमा पनि कर्मचारीतन्त्रमा उच्च दक्षता र कुनै राजनीतिक प्रभाव परेको देखिँदैन। कर्मचारी तन्त्र निष्पक्ष पारदर्शी र स्वतन्त्र हुनु आवश्यकता छ। यदि कर्मचारीतन्त्र नै दल निकट दलका सबै कार्यक्रममा सहभागी हुन्छन् भने निष्पक्ष स्वतन्त्र पारदर्शी प्रशासन पक्कै हुँदैन। त्यसैले राष्ट्रसेवक सबैले राजनीति झुकाव राख्नु हुँदैन। राजनीति झुकावले व्यक्तिगत फाइदा होला तर समाज र राष्ट्रको लागि बेफाइदा हुन्छ। व्यक्तिभन्दा समाज र समाज भन्दा राष्ट्र ठूलो हो। राष्ट्र राष्ट्रियता सार्वभौमसत्ता लाई सधैँ जनताले मनन गर्नुपर्ने हुन्छ। कर्मचारी तन्त्र नैतिकवान इमान्दार हुनु नै राष्ट्र प्रति को ठुलो सम्मान हो। राष्ट्रलाई र जनतालाई सम्मान गर्ने व्यक्ति कर्मचारी भएमा देशको मुहार फेरिने थियो।
नेपालको परिपेक्षमा कर्मचारीतन्त्र आवश्यकताभन्दा बढी राजनीति झुकाव राख्दछन्। होलान् २०% कर्मचारी तन्त्र राजनीति झुकाप नगर्लान् । ८० प्रतिशत कर्मचारीतन्त्र कुनै न कुनै दल निकट झुकाव राख्ने गर्दछन् । यसको प्रमाण विभिन्न राजनीतिक दलका भातृ संस्थाका रुपमा उनीहरू क्रियाशील छन् । कर्मचारीको सरुवा र बढुवा प्रक्रियामा सरकारको बढी चासो हुनु स्वभाविक हो। तर राजनीतिको आस्था विचार र सिद्धान्तको आधारमा कर्मचारी तन्त्र लाई पायक तथा अपायक स्थानमा पटकपटक सरुवा गरिनु राजनीतिको दूषित हावा हो। मान्छेको मन लोभी पापी सामान्य हो। लोभी पापी मनले थोरै समयमा धेरै नाम र दाम कमाउने उद्देश्यले मन्त्री सांसद दलका नेतासम्म पुगेर अमुक ठाउँमा सरुवाको बिन्तीपत्र चढाउने परम्परा कर्मचारीतन्त्रको ठूलो कमजोरी हो। सबै कर्मचारी हरूको पेशागत हकहितका लागि एउटै मात्र ट्रेड युनियन आवश्यकता लोकतन्त्रमा हुन्छ। तर दलीय आधारमा सङ्घ संगठन परिषद् महासङ्घ लोकतन्त्रमा पटक्कै सुहाउँदैन। लोकतन्त्रलाई बलियो र संस्थागत गर्नका लागि कर्मचारीहरू राजनीतिभन्दा पर रहनु आवश्यकता ठानिन्छ । ३५ वर्षसम्म देश अस्थिर रह्यो। सरकारहरू पटकपटक परिवर्तन भए । कुनै पनि सरकारले पाँच वर्षे अवधि पूरा गर्न पाएनन् । सरकार अस्थिर रहँदा विकासका कार्यहरू जनताका आशा र भरोसा तुहिने गरेका छन्। जनतालाई सर्वोपरि राखी स्थिर सरकार आवश्यकता छ । छिमेकी मुलुक भारतमा समेत १८ दल मिलेर स्थिर सरकार पाँच वर्षसम्म चलेका थुप्रै प्रमाणहरु छन्। नेपालमा पटकपटक मिलिजुली सरकार गठन भए तर पाँच वर्ष अवधि पुरा गर्न सकेनन्। स्वार्थको राजनीतिले गर्दा देश विकास नभएको तथा आर्थिक विकास नभएको वैदेशिक ऋण वृद्धि भएको शिक्षा स्वास्थ्य खानेपानीमा राजनीतिकरणले गर्दा देशको विकास मा बाधा पुगेको अवश्य नै हो।
प्रशासन क्षेत्रमा योग्य क्षमतावान तालिम प्राप्त प्रशासकहरू पक्कै हुनुहुन्छ। केही प्रशासकहरु दिनरात जनताको सेवामा समर्पित भइरहँदा केहीले राजनीति स्वार्थ अनुसार काम गरेको आरोपहरु लाग्ने गर्दछ । कर्मचारीतन्त्रमा राजनीति भागबण्डाको आधारमा नियुक्ति बढुवा र सरुवा गैरकानुनी हो। प्रशासनलाई तथा कर्मचारीतन्त्रलाई निष्पक्ष रुपमा कार्यसम्पादन गर्न दिनुपर्ने हुन्छ। राजनीति हस्तक्षेप कर्मचारी तन्त्रमा नगरिदिनुहोला । कर्मचारी तन्त्रका समस्याहरू थुप्रै होलान् । ट्रेड युनियन तथा दबाब समूह मार्फत सरकारलाई आफ्ना हक अधिकार र पेशागत मागहरू राख्न सकिन्छ। असल सरकार र कल्याणकारी सरकारले जायज मागहरू पूरा गर्नुपर्ने आवश्यकता हो। महिनौ दिन सम्म कर्मचारीतन्त्र तथा राष्ट्रसेवकहरूले काठमाडौँको सडकमा आन्दोलन गरिनु दुखद विषय हो। शान्तिपूर्ण आन्दोलन दुई चार दिन स्वाभाविक हो। सरकारले कर्मचारीतन्त्रका तथा राष्ट्रसेवक सबैका समस्याहरु बुझ्नु र सुन्नु पर्दछ । आर्थिक स्रोत र कानुन अनुसार समस्याको समाधान गरिनुपर्ने हो । कुनै पनि पेशागत आन्दोलनलाई राजनीतिकरण गर्नु हुँदैन। कर्मचारी राष्ट्रसेवक हरूको जायज मागलाई राजनीतिकरण गरियो भने त्यसको बेफाइदा आम जनतामा पर्ने गर्दछ। लोकसेवा तथा शिक्षक सेवा आयोगबाट उत्कृष्ट छनोट भएका कर्मचारी तथा राष्ट्रसेवकलाई काम गर्ने वातावरण बनाउनुपर्दछ । सबै कर्मचारी तथा राष्ट्रसेवकले पनि बुझ्नुपर्ने विषय जनताको सेवा गर्छु भनेर सेवा प्रवेश गर्नुभएकाले राजनीतिलाई तिलाञ्जली दिनुपर्ने हुन्छ। धेरै लोभी पापी पनि हुनुहुँदैन । छोटो समयमा धेरै आर्थिक विकास गर्ने सोच कर्मचारीले त्याग गर्नुपर्ने हुन्छ। राजनीतिको प्रभाव कर्मचारीमा देखियो भने असल इमान्दार सक्षम योग्य तालिम प्राप्त कर्मचारी को भावना मा चोट पुग्ने पक्कै देखिन्छ । त्यसैले सबै राष्ट्रसेवक कर्मचारी हरुले लोक कल्याणकारी राष्ट्र निर्माणको लागि राजनीतिबाट निकै पर रहनु २१ औ शताब्दीको विशेषता हो।
प्रतिक्रिया