
विश्व रगंमञ्चका एउटा ऐतिहासिक उपलब्धि पाएर नाटककार महेन्द्र मलंगियाले नेपालको नाम इतिहासमा स्वर्ण अक्षरले लेखाउन सफल भएका छन् । यो नेपालको मधेश प्रदेशको मैथली भाषा साहित्यका लागि मात्र नभएर सम्पुर्ण नेपालको लागि गर्वको क्षण बनेको छ । आज मैथली नाटककार र रंगकर्मी महेन्द्र मलंगियाले गिनिज विश्व रेकार्डमा आफ्नो नामदर्ज गराएर नेपालको माटोमा प्राचीन समयदेखि नै रंगमञ्चीय इतिहास रहेको प्रमाणित गराई दिएका छन् ।
नेपालमा नाटकको इतिहास डबलीको अस्तित्वसँगै सूर्यवंशी राजा शिवदेव वर्माको पालादेखि नै रहेको र नाट्यस्वरूपको अस्तित्व भने इसापूर्व ४२६ देखि कै रहेको पाइन्छ । हरिसिद्धि नाचबाट सुरु भएको नेपाली रङ्गमञ्चको इतिहासले धेरै नै उतारचढाव पार गरिसकेको छ । नेपालको इतिहासमा भारतवर्षका सम्राट् विक्रमादित्यले उज्जैनबाट त्रिशक्तिदेव हरिसिद्धिलाई कलशमा ल्याएर प्रतिस्थापित गराएर हरिसिद्धि नाचको परम्परा चलाएको मानिन्छ ।
देववंशावली, भाषावंशावली, राजभोगमाला आदि सबै वंशावलीमा कलिगत २६७५ अर्थात्् इसापूर्व ४२६ मा विक्रमादित्यले भारतको उज्जैनबाट हरिसिद्धि नाच नेपालमा ल्याएको उल्लेख भएकोबाट यसको प्राचीनता प्रमाणित हुन्छ । मल्ल कालमा भक्तपुरका मल्ल राजाहरु मैथलीमा नाटक लेखेर मञ्चन गराउथे । यही मैथली भाषामा लेखिएका नाटकले आज इतिहास रचेको छ । नाटककार तथा रंगकर्मी महेन्द्र मलंगियाले मैथिली नाट्य क्षेत्रमा मात्र होइन, कुनै पनि भाषामा एकै नाटककारका कृतिहरू ३५ संस्थाद्वारा, ३५ नाटक, ३५ निर्देशक र ८००० भन्दा बढी रंगकर्मीहरूको सहभागितामा मञ्चन गराउने ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको छ।

यो सौभाग्य नेपालको मधेश प्रदेशमा बोलिने मैथिली भाषा लाई प्राप्त भएको हो र यसको माध्यम बन्नु भएका छन् आदरणीय महेन्द्र मलंगिया । उहाँले सबैभन्दा ठूलो स्क्रिप्ट लेखन पाठका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थान बनाउनुभएको छ। सर्वनामबाट उनलाई सम्मान गर्ने र उनीसँगै प्रज्ञाको नाटक महोत्सवमा प्रस्तुति दिने मौकाको स्मरण भएको छ । यो विश्व कृतिमानको उपाधि प्राप्त गनै बेला वहाँ धेरै भावुक भएर नाटक लेखन बारे आफ्नो मन्तव्यबाट एकैपटक १८० देशका रंगप्रेमीहरुलाई सम्बोधन गर्दा धेरै पटक भावुक बन्नु भएको थियो । नेपाल अझ भनौ मिथिलाले मलंगिया जस्ता पुत्र पाउनु हामी सबै नेपालीहरुको लागि गर्व महशुस भएको छ । नेपाली र मैथिली साहित्य तथा रंगमञ्चलाई विश्वस्तरमा पुर्याउनुभएकोमा आदरणीय महेन्द्र मलंगियालाई बधाई छ । सम्भवतः सिर्जनात्मक कार्यमा नेपालबाट विश्वकृतिमान गर्ने पहिलो नाटककार तथा रंगकमी मलंगिया नै हुनु पर्छ । त्यसैले नेपाल सरकारले यस्ता प्रतिभाको कदर र सम्मान गरेर सिर्जनात्मक क्षेत्रमा लागेकाहरुको हौंसला बढाउने काम गर्नु पर्छ ।
—
प्रतिक्रिया