अघ्यावधिक गरिएको  : शक्तिशाली भूकम्पले भेनेजुएलामा मच्चायो वितन्डा: १८८ जनाको मृत्यु, सयौं बेपत्ता

इनेप्लिज २०८३ असार ११ गते १८:४० मा प्रकाशित

भेनेजुएलामा बुधबार साँझ गएको दुईवटा शक्तिशाली भूकम्पले देशलाई तहसनहस बनाएको छ। १०० वर्षभन्दा बढी समययताकै शक्तिशाली मानिएका ७.२ र ७.५ मापन (म्याग्निच्युड)का  यी भूकम्पहरूका कारण अहिलेसम्म कम्तीमा १८८ जनाको मृत्यु भइसकेको सरकारी अधिकारीहरूले जनाएका छन्। 

बिबिसीका अनुसार भूकम्पका कारण २०० भन्दा बढी मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ भने मृतकको संख्या अझ बढ्न सक्ने डर छ।

यस भीषण प्राकृतिक प्रकोपमा परी करिब १,५०० जना घाइते भएका छन् र हजारौं मानिसहरू अझै बेपत्ता छन्। राजधानी काराकासको उत्तरमा रहेको तटीय क्षेत्र ‘ला गुएरा’ मा सबैभन्दा धेरै क्षति पुगेको छ। 

त्यहाँका थुप्रै घरहरू भत्किएका छन् र उद्धारकर्मीहरू दिनरात नभनी भग्नावशेष हटाएर मानिसहरूलाई बचाउन संघर्ष गरिरहेका छन्।

भूकम्पको धक्का काराकासबाट करिब १,७०० किलोमिटर टाढा रहेको ब्राजिलको अमेजन क्षेत्रसम्म यसको महसुस गरियो। काराकासको मुख्य विमानस्थलमा पनि क्षति पुगेपछि बन्द गरिएको छ।

अहिले उत्तरी भेनेजुएलाका सहरहरूमा त्रासको माहोल छ। डरले घरबाट बाहिर निस्केका मानिसहरू आफ्ना आफन्त र हराएका व्यक्तिहरूको खोजीमा भग्नावशेषहरू पल्टाइरहेका छन्।

 सामाजिक सॅजालमा देखिएका दृश्यहरू निकै हृदयविदारक छन्; उद्धारकर्मीहरूले ठूला-ठूला उपकरण र औजारहरूको प्रयोग गरेर भत्किएका भवनहरूभित्र फसेका मानिसहरूलाई निकाल्ने प्रयास गरिरहेका छन्।

एकजना सेवानिवृत्त शिक्षक जुआन अल्बर्टो मेन्डानोले आफ्नो अनुभव सुनाउँदै भनेका छन्— उनी भग्नावशेषको बीचबाट हिँडिरहँदा एक महिलाको हात देखे, जो भित्र फसेर सहयोगका लागि इशारा गरिरहेकी थिइन्। यस्ता धेरै साहसका कथाहरू र पीडाका दृश्यहरूले अहिले सिंगो देश रोइरहेको छ।

अहिले पनि उद्धार कार्य जारी छ र विश्वभरका मानिसहरू भेनेजुएलाका जनताको सुरक्षाको कामना गरिरहेका छन्।

प्रतिक्रिया