अमेरिकाको अर्कान्सास राज्य बिश्वबिद्यालयमा परिसरमा मध्यरातमा गोली चल्यो: भागदौडमा अन्य धेरै विद्यार्थी सामान्य घाइते

गोलीकाण्डमा एक महिला घाइते

इनेप्लिज २०८३ वैशाख १३ गते २३:५८ मा प्रकाशित

अमेरिकाको अर्कान्सास स्टेट युनिभर्सिटी (राज्य बिश्वबिद्यालय ) मा आइतबार बिहानै गोली चल्दा एक महिला घाइते भएकी छिन्। विश्वविद्यालय प्रशासनका अनुसार ती महिलाको खुट्टामा गोली लागेको छ भने तर उनको अवस्था खतरामुक्त रहेको जानकारी दिइएको छ।

यो घटना आइतबार मध्यरातको केही समयपछि भएको हो। विश्वविद्यालयको ‘युनिटी पार्क’ उद्यानमा मानिसहरूको एउटा समूह भेला भइरहेका बेला अचानक गोली चलेको आवाज आएपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाको जानकारी पाउनेबित्तिकै जोन्सबोरो प्रहरी विभाग र विश्वविद्यालयकै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एक महिलाको तल्लो खुट्टामा गोली लागेको पुष्टि गरेको छ। गोली चलेपछि त्यहाँ उपस्थित भीडमा ठुलो भागदौड मच्चिएको थियो। सोही भागदौडका क्रममा अन्य केही व्यक्तिहरू पनि सामान्य घाइते भएका छन्। कसैको हात-खुट्टामा चोट लागेको छ भने कसैको शरीरमा सामान्य चोट लागेको बताइएको छ।

विश्वविद्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “एक महिलालाई गोली लागेको छ तर उनको चोट ज्यान जाने खालको छैन। भीड तितरबितर हुने क्रममा अरू केहीलाई सामान्य चोटपटक लागेको सूचना प्राप्त भएको छ।”

प्रहरीका अनुसार यो कुनै योजनाबद्ध सामूहिक आक्रमण नभई एउटा छुट्टै र व्यक्तिगत प्रकृतिको घटना देखिएको छ। प्रशासनले अहिले परिसर क्षेत्रमा कुनै ठुलो खतरा नरहेको र अवस्था नियन्त्रणमा रहेको भन्दै विद्यार्थी र अभिभावकहरूलाई ढुक्क रहन आग्रह गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया