
अमेरिकाको युनिभर्सिटी अफ साउथ फ्लोरिडा (साउथ फ्लोरिडा बिश्वबिद्यालय) मा विद्यावारिधि गरिरहेका दुई विद्यार्थीको दुःखद घटनाले सबैलाई स्तब्ध बनाएको छ। अप्रिल १६ देखि हराइरहेका २७ वर्षीय जमिल लिमोन र नाहिदा ब्रिस्टीमध्ये जमिलको शव प्रहरीले फेला पारेको छ।
प्रहरीका अनुसार जमिलको शव शुक्रबार बिहान टेम्पा शहरको ‘हावर्ड फ्र्यांकल्यान्ड’ पुलमा भेटिएको थियो। यस घटनामा उनीहरूसँगै कोठामा बस्ने २६ वर्षीय हिशाम अबुघारबियहलाई प्रहरीले पक्राउ गरेको छ। हिशाममाथि जमिल र नाहिदा दुवैको हत्या गरेको आरोप लगाइएको छ।
गत शुक्रबार बिहान हिशामले आफूलाई घरभित्र थुनेर राखेको खबर प्रहरीले पाएको थियो। प्रहरी टोली त्यहाँ पुग्दा उनी बाहिर निस्कन मानेका थिएनन्। केही समयको प्रयासपछि उनले आत्मसमर्पण गरे। अनुसन्धानका क्रममा उनले नै आफ्ना साथीहरूको हत्या गरेको प्रमाण फेला परेपछि प्रहरीले उनलाई हिरासतमा लिएको हो।
जमिलको शव भेटिए पनि अर्की विद्यार्थी नाहिदा ब्रिस्टी अझै फेला परेकी छैनन्। प्रहरीको गोताखोर टोली र डुङ्गाहरूले पुल आसपासको पानीमा उनको खोजी गरिरहेका छन्। नाहिदा र जमिल मिल्ने साथीहरू थिए र उनीहरूलाई अन्तिम पटक अप्रिल १६ मा देखिएको थियो।
पक्राउ परेका हिशाम यसअघि पनि कुटपिट र घरेलु हिंसाका घटनामा संलग्न रहेको खुलेको छ। एबिसीन्यूजका अनुसार उनी हाल उक्त विश्वविद्यालयका विद्यार्थी वा कर्मचारी नभएको जनाएको छ ।
विश्वविद्यालयका अध्यक्ष मोएज लिमायेमले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विश्वविद्यालय समुदाय अब सुरक्षित रहेको र नाहिदाको सकुशल फिर्तीका लागि प्रार्थना गरिरहेको बताएका छन् । जमिल भूगोल विषय पढ्दै थिए भने नाहिदा रसायन अभियन्त्रणा (केमिकल इन्जिनियरिङ)की विद्यार्थी हुन्। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया