
अमेरिकी सेनाले मध्यपूर्वमा आफ्नो तेस्रो विमानवाहक युद्धपोत (एयरक्राफ्ट क्यारियर) आइपुगेको जानकारी दिएको छ। विश्लेषकहरूका अनुसार यो पछिल्लो २० वर्षमा यस क्षेत्रमा भएको सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालन हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध कहिले समाप्त हुन्छ भन्ने बारे कुनै समयसीमा नतोकेकै समयमा यो घोषणा भएको हो।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ‘युएसएस जर्ज एच.डब्लु. बुश’ नामको यो विशाल युद्धपोत अहिले आफ्नो कार्यक्षेत्रमा आइपुगेको छ। सन् २००९ मा निर्माण गरिएको यो जहाज करिब १,००० फिट लामो छ र यसले ८० भन्दा बढी लडाकु विमानहरू बोक्न सक्छ। यसमा ५,५०० भन्दा बढी सैनिकहरू कार्यरत छन् र यो दुईवटा आणविक भट्टी (न्यूक्लियर रिएक्टर) बाट चल्छ।
सैन्य अधिकारीहरूले सुरक्षाका कारण यो जहाजको ठ्याक्कै स्थान र आगामी योजना सार्वजनिक गरेका छैनन्। तर विज्ञहरूका अनुसार, यसको उपस्थितिले नै इरानलाई ठूलो दबाब दिनेछ। अवकाशप्राप्त अमेरिकी नौसेनाका कप्तान कार्ल शुस्टरका अनुसार, शान्ति वार्ता नजिकिँदै गर्दा तेस्रो युद्धपोत आउनुले इरानी पक्षलाई थप दबाबमा पार्नेछ।
हाल यस क्षेत्रमा ‘युएसएस अब्राहम लिंकन’ पहिलेदेखि नै तैनाथ छ भने ‘युएसएस जेराल्ड आर. फोर्ड’ लाई फिर्ता पठाउन वा सहयोग गर्न यो नयाँ जहाज आएको हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया