अमेरिकाको लुजियाना बिशाल बजारमा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना हिरासतमा

इनेप्लिज २०८३ वैशाख ११ गते १०:५७ मा प्रकाशित
Screenshot

अमेरिकाको लुजियाना राज्यस्थित ‘मल अफ लुजियाना’ को फुड कोर्ट(फलफुल बेच बिखन गर्ने स्थल)मा बिहीबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ र अन्य पाँच जना घाइते भएका छन्। ब्याटन रुज नामक शहरका प्रहरीका अनुसार यो कुनै अन्धाधुन्ध आक्रमण नभई दुई समूहबीचको झगडाका कारण भएको लक्षित घटना हो।

प्रहरी प्रमुख टी.जे. मोर्सले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार अहिलेसम्म पाँच जना शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिइएको छ। यद्यपि, यस घटनामा अझै धेरै मानिसहरू संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ।

घटनाका बेला बिशाल बजार (मल)मा रहेका एक कर्मचारीले गोली चलेको आवाज आएको र त्यसपछि मानिसहरू भुइँमा ढलेको देखेको बताइन्। उनले भनिन्, “त्यहाँ जताततै रगत देखिन्थ्यो र निकै भद्रगोलको अवस्था थियो।”

एबिसीन्यूजका अनुसार घाइते भएका पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सुरुमा १० जना घाइते भएको भनिए पनि पछि प्रहरीले ६ जना मात्र हताहत भएको जानकारी दिएको छ।

नगर प्रमुख सिड एडभर्ड्सले सबै ग्राहकहरूलाई सुरक्षित रूपमा बिशाल बजार (मल)बाट बाहिर निकालिएको बताएका छन् । मृतक र घाइतेका परिवारप्रति सहानुभूति प्रकट गर्दै लुजियानाका गभर्नर जेफ ल्यान्ड्रीले पनि प्रहरीसँग समन्वय गरिरहेको बताए । घटनाको सम्मान र शोकमा शुक्रबार दिनभर बिशाल बजार बन्द रहने घोषणा गरिएको छ।

प्रतिक्रिया