अमेरिकाको टेक्सस यहूदी प्रार्थनास्थलमा आक्रमण गर्ने ठूलो षड्यन्त्र विफल: १८ वर्षीया किशोरी पक्राउ

अनलाइनमा बुनिएको हत्याको योजना: १० करोड डलर धरौटीमा जेल परिन् एन्जेलिना

इनेप्लिज २०८३ वैशाख ११ गते १०:३८ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यकी १८ वर्षीया किशोरी एन्जेलिना ह्यान हिक्सलाई एक भयानक आक्रमणको योजना बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनले टेक्सस राज्यको ह्युस्टनमा रहेको एउटा यहूदी प्रार्थनास्थल (सिनगाग) मा गाडी जोताएर धेरै भन्दा धेरै मानिसको ज्यान लिने षड्यन्त्र गरेको अदालतको दस्तावेजमा उल्लेख छ।

अदालतका अनुसार एन्जेलिनाले ‘एन्जेल’ र ‘टिगन’ नाम गरेका दुई पुरुषसँग मिलेर सन् २०२८ मा सो आक्रमण गर्ने योजना बनाइरहेकी थिइन्। उनीहरूले यहूदी समुदायका मानिसहरूलाई निशाना बनाउन खोजेका थिए। एबिसीन्यूजका अनुसार यस योजनामा संलग्न ती दुई पुरुषहरू अहिलेसम्म पक्राउ परेका छैनन् र उनीहरूको खोजी भइरहेको छ।

एफबीआईका निर्देशक काश पटेलका अनुसार, मंगलबार एक गोप्य सूचना पाएपछि प्रहरीले तुरुन्तै कारबाही थालेको थियो। सो आक्रमणको निशानामा एउटा प्राथमिक विद्यालय पनि रहेको थियो। समयमै पक्राउ गरिएकाले धेरै मानिसको ज्यान जोगिएको पटेलले बताएका छन्।

यो घटनापछि न्यायाधीशले ती किशोरीको धरौटी रकम १० मिलियन डलर तोकेका छन्। बाहिर रहेका अन्य अपराधीसँग सम्पर्क गरेर थप खतरा हुन सक्ने भन्दै उनलाई जेलमै राख्न यति ठूलो रकम तोकिएको हो।

अर्कोतर्फ, एन्जेलिनाका बुबाले भने यी सबै आरोपहरू झूटो भएको दाबी गरेका छन्। उनका अनुसार एन्जेलिना एक असल विद्यार्थी हुन् र उनी दुई हप्तापछि स्नातक तह उत्तीर्ण हुँदै थिइन्। उनका बुबाले यो सबै घटना अन्तर्जाल ( इन्टरनेट)मा खेलिने एउटा ‘काल्पनिक खेल’ का कारण भएको र प्रहरीले विषयलाई अतिरञ्जित बनाएको बताएका छन्।

अहिले यस विषयमा थप अनुसन्धान भइरहेको छ र एन्जेलिनाका वकिलले यसबारे थप बोल्न बाँकी रहेको बताएका छन्।

प्रतिक्रिया