इरानी चेतावनी: “हाम्रो कुरा नमाने हर्मुजबाट कुनै पनि जहाज चल्न दिँदैनौँ”

समुन्द्रमा इरानको पकड बलियो बन्दै, पहिलो आम्दानी सरकारी बैंकमा जम्मा

इनेप्लिज २०८३ वैशाख १० गते १०:४१ मा प्रकाशित

इरानको संसदका उपसभामुख हमिदरेजा हाजिबाबेईले हर्मुज जलसन्धि भएर ओहोरदोहोर गर्ने जहाजहरूबाट उठाइएको पहिलो करबापतको रकम सरकारी बैंकमा जम्मा भएको जानकारी दिएका छन् । इरानको अर्ध-सरकारी समाचार संस्था ‘फार्स’का अनुसार बिहीबार एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले यो घोषणा गरेका हुन् ।

हाजिबाबेईले हर्मुज जलसन्धिमा इरानको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै अमेरिकालाई कडा चेतावनी दिएका छन् । उनले भने , “यदि अमेरिका अहिलेकै बाटोमा अगाडि बढिरह्यो भने, हर्मुज जलसन्धिबाट कुनै पनि जहाजलाई जान दिइने छैन।” उनले इरान अहिले कसैसँग वार्ता गर्ने पक्षमा नरहेको र केवल आफ्ना मागहरू राखिरहेको समेत स्पष्ट पारेका छन् ।

इरानको संसदका अर्का सदस्य अलिरेजा सालिमीले पनि जहाजहरूबाट कर उठाएर राज्यको ढुकुटीमा जम्मा गरिएको कुरा पुष्टि गरेका छन् । उनका अनुसार कुन जहाजसँग कति कर लिने भन्ने कुरा उक्त जहाजमा लोड गरिएको सामान र त्यसले निम्त्याउन सक्ने जोखिमको आधारमा तय गरिन्छ।

सालिमीले थप स्पष्ट पार्दै भनेका छन् , “कुन जहाजबाट कति शुल्क लिने र कसरी उठाउने भन्ने कुरा इरानले नै तय गर्छ। अर्को शब्दमा भन्नुपर्दा, समुन्द्रको यो बाटोमा नियम बनाउने अधिकार इरानको मात्र हो।”

हर्मुज जलसन्धि विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग हो, जहाँबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थको ओसारपसार हुने गर्दछ।

प्रतिक्रिया