केप कड नेपाली समाजको बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न, बिष्णु मान प्रधान- अध्यक्षमा निर्वाचित

इनेप्लिज २०८३ वैशाख ९ गते २:०१ मा प्रकाशित

केप कड नेपाली समाजको बार्षिक साधारण सभा तथा चौथो अधिवेशन समाजका अध्यक्ष केबी राईको सभापतित्वमा यहि अप्रिल १९ तारीख २०२६ आईतवारका दिन म्यासाचुसेट्स राज्यको केप कड हायनस स्थित कोर्टयार्ड बाइ म्यारीओटहोटलको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन महासचिव ईच्छा खड्का र सचिव सरस्वती खनालले गरेका थिए। सभापतिबाट बत्तिवालेर उदघाटन गरिएको सभा नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरु गरिएको थियो। अमेरिकाको राष्ट्रिय गान बिष्लेक्स मान प्रधानको एकल गायनमा भएको थियो ।

समाजका बरिष्ठ उपाध्यक्ष तथा बार्षिक साधारण सभाका संयोजक विष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्नु साथै कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो भने समाजका उपाध्यक्ष कृष्ण तिमल्सिना र संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरी राईले शुभकामना मन्तव्य दिनु भएको थियो । सभाले समाजका महासचिव इच्छा खड्काद्वारा प्रस्तुत गरिएको संस्थाको बार्षिक प्रगति प्रतिवेदन साथै संस्थाका कोषाध्यक्ष विमल खड्काद्वारा प्रस्तुत गरिएको बार्षिक आर्थिक विवरणलाई सर्वसम्मत पारित गरेको थियो।

साधारण सभाको पहिलो सत्रमा केप कड नेपाली समाजको आजीवन सदस्यता लिनुहुने १२ जना नयां सदस्यहरूलाई समाजका अध्यक्ष केबी राईले खादा तथा प्रमाणपत्र प्रदान गरि स्वागत तथा सम्मान ब्यक्त गर्नुभयो। त्यसैगरि वर्ष भरि समाजले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको मेरूदण्ड स्थानिय कलाकारहरू साथै उक्त कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग (५०० डलर वा सो भन्दा बढी) प्रदान गर्नुहुने दाताहरूलाई समेत समाजका अध्यक्ष केबी राईले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान ब्यक्त गर्नुभयो।

साधारण सभाको अन्त्यमा, यस सभाका सभापति केबी राईले बर्तमान कार्य समितिले २ वर्षको निर्धारित कार्य अवधि सफलतापूर्वक सम्पन्न गरेकोमा सबै पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आजकै मितिदेखि यसलाई बिगठन गरिएको घोषणा गर्दै नंया कार्यसमिति चयनको लागि सभामा उपस्थित सबैलाई आव्हान समेत गर्नुभयो।

चौथो अधिवेशनको बन्द सत्रलाई संचालन गर्दै कार्यक्रम संचालकले प्रमुख निर्वाचन आयुक्त, डा़ प्रदीप बज्राचार्यलाई निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्नुभयो। जसअनुसार प्रमुख निर्वाचन आयुक्त डा़ बज्राचार्यको नेतृत्वमा सदस्यद्वय दीर्घ राई र रोशन अधिकारीको सहितको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी बिधिवत रुपमा निर्वाचन सम्पन्न गरेका थिए । उक्त निर्वाचनमा विधान सम्मत तपशिल बमोजिमको २१ सदस्यीय नयां कार्यसमिति (२०२६-२०२८) निर्विरोध निर्वाचित भएको थियो।

नव निर्वाचित कार्यसमिति (२०२६-२०२८)

  1. बिष्णु मान प्रधान- अध्यक्ष
  2. कृष्ण तिमल्सिना- बरिष्ठ उपाध्यक्ष
  3. कुबेर बिन्दुकार- उपाध्यक्ष
  4. इच्छा खड्का- उपाध्यक्ष
  5. सरस्वती खनाल- महासचिव
  6. हर्कुलस कन्दंगवा- सचिव
  7. खगेन्द्र तिलुंग राई- सह-सचिव
  8. बिमल खड्का- कोषाध्यक्ष
  9. अजय खतिवडा- सह कोषाध्यक्ष
  10. पार्वती चालिसे- महिला संयोजक
  11. कुमार तामागं- युवा संयोजक
  12. छेजी शेर्पा एन्ड्रु सदस्य
  13. ज्योति केसी- सदस्य
  14. मंजु शर्मा- सदस्य
  15. दीक्षा थापा- सदस्य
  16. आदर्श राई- सदस्य
  17. ज्योति बुढाथोकी लिवागं
  18. हरि प्रसाद रिजाल- सदस्य
  19. सन्तोष श्रेष्ठ-सदस्य
  20. मिंग्मा शेर्पा- सदस्य
  21. के ओगंचुक शेर्पा- सदस्य

कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष केबी राईले नवनिर्वाचित अध्यक्ष बिष्णुमान प्रधान को नेतृत्वको कार्यकारी समितिलाई बधाई तथा शुभकामना दिदै आगामी दिनहरूमा पनि समाजका हरेक गतिविधिहरूमा कार्यसमिति बाहिरै रहेरपनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो।

यसैगरि नवनिर्वाचित अध्यक्ष बिष्णु मान प्रधानले पनि निवर्तमान अध्यक्ष लगायत सम्पूर्ण निवर्तमान हुने पदाधिकारी तथा सदस्यहरूलाई वहांहरूले आफ्नो २ वर्षको कार्यकालमा संस्थालाई र केप कड नेपाली समुदायलाई पुर्याउनुभएको योगदानको कदर गर्दै भविष्यमा पनि वहाहरूको सहयोग निरन्तरता रहने कुरामा विश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष प्रधानले सम्पूर्ण नेपाली हरुलाई नयां बर्ष २०८३ को हार्दिक शुभकामना पनि ब्यक्त गर्नु भयो।

अन्त्यमा सरल र सौहार्दपूर्ण वातावरणमा नंया कार्यसमिति चयन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गराउनुहुने निर्वाचन प्रमुख डा. प्रदीप बज्राचार्य साथै निर्वाचन समितिका सदस्यद्वय दीर्घ राई र रोशन अधिकारीलाई पनि निवर्तमान अध्यक्ष केबी राईले खादा ओडाएर धन्यवाद ज्ञापन गर्नुभयो।

निर्वाचन समितिका अध्यक्ष डा. प्रदिप बज्राचार्य, सदस्य दिर्घ राई र रोशन अधिकारीले नब निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई, प्रमाण पत्र प्रदान गरी पद तथा गोपनियताको सपथ गराउनु साथै बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।

केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न २०११ मा केप कड, मासाच्युसेट्स, अमेरिकामा स्थापना गरिएको नेपालीहरुको साझा सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

प्रतिक्रिया