
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानी प्रतिनिधिमण्डलको प्रस्तावित इस्लामावाद भ्रमण तत्कालका लागि स्थगित भएको छ। मंगलबार बिहान इरानी सरकारी दूरदर्शन (टेलिभिजन)ले दिएको जानकारी अनुसार कुनै पनि टोली पाकिस्तानको राजधानी इस्लामावादका लागि प्रस्थान गरेको छैन।
इरानी अधिकारीहरूले सामाजिक संजाल टेलिग्राममार्फत आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्दै भनेका छन् ,उनीहरू “धम्की वा तोडिएका बाचाको छायामा बसेर कुनै पनि वार्ता स्वीकार गर्दैनन्।”
एपीका अनुसार अब हुने कुनै पनि वार्ता वा सहभागिता अमेरिकीहरूको “व्यवहार र अडानमा आउने परिवर्तन” मा भर पर्ने इरानको भनाइ रहेको छ । अर्थात्, जबसम्म अमेरिकाले आफ्नो व्यवहार सुधार्दैन, तबसम्म इरान वार्ताको पक्षमा देखिँदैन।
यसैबीच, इरानको प्रमुख सैन्य कमान्ड ‘खाताम अल-अन्बिया’ का सैनिक प्रमुख अली अब्दुल्लाहीले पनि कडा चेतावनी दिएका छन्। आधिकारिक समाचार निकायका अनुसार उनले मंगलबार भनेका छन्, “शत्रुले गरेका बाचाहरू उल्लंघन गरेमा त्यसको निर्णायक जवाफ दिन तेहरान (इरान) पूर्ण रूपमा तयार छ।”
प्रमुख अब्दुल्लाहीले थप दाबी गर्दै भनेका , इरानले गरेको शक्तिशाली क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन)आक्रमणका कारण शत्रु पक्ष अहिले निकै दबाबमा छ। उनले भनेका छन्, “इरानी आक्रमणको विनाशकारी धक्का सहन नसकेर शत्रु अहिले हतास भएर युद्धविरामको खोजीमा लागेको छ।”
समग्रमा, इरानले अहिले वार्ताभन्दा पनि आफ्नो शक्ति र अडानलाई प्राथमिकता दिएको देखिन्छ। बाह्य दबाब वा धम्कीका आधारमा इरान कुनै पनि सम्झौताको टेबुलमा बस्ने छैन भन्ने सन्देश दिएको छ ।
प्रतिक्रिया