रिचमण्ड भर्जिनियाबाट- पशुपति घिमिरे

भर्जिनियाको राजधानी शहर रिचमण्डमा नेपाली कम्यूनिटी अफ ग्रेटर रिचमन्ड भर्जिनिया ( एनसीआरभीए )को आयोजनामा नेपाली नयाँ वर्षको सन्दर्भ पारेर नयाँ वर्ष २०८३ भव्यतापूर्वक मनाइएको छ। रिचमण्डमा बसोबास गर्ने नेपालीहरूले संचालन गरेको संस्था एनसीआरभीएको आह्वानमा करिब ३०० जति नेपाली स्थानीय डिप रन पार्कमा भेला भएर आइतबार खाना, खेलकूद र विविध कार्यक्रमका साथ नयाँ वर्ष मनाइएको हो।

कार्यक्रमको उद्घोषण रिचमण्ड नेपाली पाठशालाका नानीबाबुहरू अनुष्का कोइराला, शिवानी बराल, प्रसिद्धि घिमिरे, आयाम राजभण्डारी र जागृत भट्टराईले गरेका थिए। यी सानासाना उद्घोषकहरूको आत्मविश्वासपूर्ण प्रस्तुतिले उपस्थित सबैको मन जितेको थियो।

कार्यक्रममा सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरूको लामो श्रृंखला प्रस्तुत गरियो। असीम राजभण्डारी,अश्विनी सिटौला,रूकेश पोख्रेल,ध्रुव श्रेष्ठ लगायत कलाकारहरूले “नेपाली हो” गीतबाट कार्यक्रमको शुभारम्भ गरे। त्यसपछि अश्विनी सिटौलाले “गणेश वन्दना”, इशान श्रेष्ठले “परेलीमा”, र प्रशिद्धि घिमिरेले “जुनको ज्योति ल्यायेर” गीत प्रस्तुत गरे। रौनक रायमाझीले “हुरी बतास”, “उडायो रेलैले” र “सिरी मा सिरी” गरी तीनवटा गीत प्रस्तुत गरी दर्शकहरूलाई मन्त्रमुग्ध पारे। सारस्वत आचार्यले “बारिलाई” गाए भने रमन शर्माले गिटार सोलो परफर्मेन्सबाट कार्यक्रममा विशेष रंग थपे। ध्रुव श्रेष्ठले मिक्स गीतहरू प्रस्तुत गरी सांगीतिक कार्यक्रमको समापन गरे। सांगीतिक प्रस्तुतिका अतिरिक्त हेलेन राईले अप्रिल २१ मा हुने स्टेटवाइड रेफरेन्डम भोटिङबारे महत्त्वपूर्ण जानकारी दिइन्। उनैले इन्टर्याक्टिभ प्रोग्राम तथा आइस ब्रेकर कन्भर्सेसन पनि सञ्चालन गरिन् जसले उपस्थित सबैलाई आपसमा घुलमिल हुन सहयोग गर्यो।

खानपानको व्यवस्थामा समुदायकै सदस्यहरूले सेलरोटी तरकारी, समय बजि, मोमो, चिया जस्ता मीठा परिकार राखेका थिए। यी परिकारहरूले सबैलाई नेपालको माटोको सुगन्ध र घरको न्यानो याद दिलाए। कार्यक्रमको अन्तमा विभिन्न खेलहरू र बिङ्गो खेलका माध्यमबाट उपस्थित बालबालिकादेखि वयस्कसम्म सबैले भरपुर आनन्द लिए ।विङ्गोको संचालन प्रताप पौडेलले गरेका थिए ।

कार्यक्रमको अन्तमा विभिन्न खेलकूद प्रतियोगिताहरू आयोजना गरिएको थियो जसमा बालबालिकादेखि वयस्कसम्म सबैले उत्साहका साथ भाग लिए।

बल पास गर्ने खेलमा ६ वर्ष र मुनिको वर्गमा इभान शर्माले प्रथम स्थान हासिल गरे। चम्चा दौडमा ६ वर्ष र मुनिको वर्गमा आव्यान भण्डारीले बाजी मारे। ७ देखि ९ वर्ष उमेर समूहमा आविन योगलले जित हासिल गरे । उल्लेखनीय कुरा के थियो भने पहिलो खेलमा दुई जना बराबर भएकाले दोस्रो पटक खेलाइयो र स्पष्ट विजेता तय भए, तथापि अतिरिक्त उपहार कार्ड भएकाले अन्तमा दुवैलाई पुरस्कृत गरियो। पिनाटा खेलमा ७ देखि ९ वर्ष समूहमा प्रियांशी रेग्मी, १० वर्ष र माथिका बालबालिका वर्गमा अनुष्का कोइराला र वयस्क वर्गमा प्रेषक घिमिरे विजयी भए। कार्यक्रमको अन्तमा आयोजित र्याफल ड्रमा उपहार स्वरूप एक सुन्दर नेपाली चित्रकला समता न्यौपानेले जितिन्।

सबै खेलहरूमा पुरस्कृत हुनेहरूलाई गिफ्ट कार्डबाट सम्मानित गरिएको थियो । सो कार्यक्रमले रिचमण्डका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई आफ्नो नयाँ वर्ष सहित संस्कृति, भाषा र परम्पराप्रतिको गहिरो लगाव प्रदर्शन गर्ने अवसर प्रदान गर्यो। एनसीआरभीएले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया