
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्ध र आगामी कदमका बारेमा एकआपसमा बाझिने खालका सन्देशहरू दिएका छन्। एपीका अनुसार उनले एकातिर यो द्वन्द्व अन्त्य गर्न आफूलाई कुनै हतार नभएको बताएका छन् भने अर्कोतिर पाकिस्तानमा तेहरानसँग छिट्टै वार्ता हुनेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन्।
सोमबार विभिन्न संचार माध्यमसँगको दूरवार्ता अन्तर्वार्ता र सामाजिक सञ्जालका प्रकाशन (पोस्ट)हरू मार्फत ट्रम्पले आफ्नो धारणा राखेका थिए। उनले छिट्टै एउटा सम्झौता हुन सक्नेमा आशावादी देखिए पनि यदि युद्धविरामको समय सकिनु अघि सहमति नभएमा “धेरै बमहरू पड्किन थाल्ने” भन्दै कडा चेतावनी पनि दिएका छन्।
यस युद्धविरामको समय मंगलबार राति ८ बजे (नेपाली समय अनुसार बुधबार बिहान पौने ६ बजे) सकिँदैछ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “मलाई कुनै पनि प्रकारको दबाब छैन, तर जे हुन्छ, त्यो निकै छिटो हुनेछ!”
उनको यो भनाइले अमेरिका इरानसँग वार्ताका लागि ढोका खुल्ला राख्न त चाहन्छ, तर आफ्ना अडानहरूमा सम्झौता नगर्ने संकेत दिएको छ।
प्रतिक्रिया