अमेरिकाको पेन्सिलभेनियामा बज्रपात: ग्यास चुहिएर घर विष्फोट, ३ देखि ११ वर्षका ६ सन्तानसहित आमाको निधन

इनेप्लिज २०८३ वैशाख ७ गते ११:५८ मा प्रकाशित

पेन्सिलभेनिया, अमेरिका । आइतबार बिहान मध्य पेन्सिलभेनियाको एक घरमा भएको शक्तिशाली विष्फोट र आगलागीमा परी एकै परिवारका ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा ३४ वर्षीया आमा र उनका ६ जना साना छोराछोरी रहेका छन्।

यो घटना बिहान करिब ८:३० बजेतिर लामार टाउनसिप(उपनगर)को एउटा घरमा भएको हो। एबिसीन्यूजले जनाए अनुसार दमकल र उद्धार टोली घटनास्थलमा पुग्दा पूरै घर आगोको ठूलो लप्काले घेरिएको थियो। घरभित्र आमा र बच्चाहरू थुनिएका थिए, जसलाई बचाउन सम्भव भएन।

प्रहरीले मृतक आमाको पहिचान गरेको र उनि ३४ वर्षीया सारा बी. स्टोल्जफस भएको पुष्टि गरेको छ । उनीसँगै उनका निर्दोष छोराछोरीहरूले पनि संसार छोडेका छन् । यस दुखद घटनामा क्रमस कलिला ११ र १० वर्षका दुई छोराहरू, ८ र ६ वर्षका दुई छोरीहरू र ५ र ३ वर्षका दुई साना छोराहरू परेका छन् ।

प्रारम्भिक अनुसन्धानका अनुसार घरभित्र प्रोपेन ग्यास (खाना पकाउने ग्यास जस्तै) चुहिएका कारण विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ। घरबाहिर रहेका ग्यासका ट्याङ्कीहरू भने सुरक्षित रहेकाले, घरभित्रै कतै ग्यास भरिएर यो दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।

एउटै घरका सबै सदस्य, विशेषगरी साना बच्चाहरूको यसरी मृत्यु भएपछि पूरा समुदाय स्तब्ध भएको छ। ती बालबालिकाहरूको उमेर खेल्ने र स्कुल जाने मात्र थियो। अहिले प्रहरीले यस घटनाको थप गहिरो अनुसन्धान गरिरहेको छ।

अलबिदा ! आमा र ६ सन्तानलाई

प्रतिक्रिया