
इरानको उच्च सैन्य कमाण्ड ‘खाताम अल-अम्बिया’ ले सोमबार एक कडा विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो व्यापारी जहाजमाथि गरेको “हस्तक्षेप” को बदला लिने घोषणा गरेको छ। इरानी सरकारी दूरदर्शन (टेलिभिजन)का अनुसार, ओमानको खाडीमा भएको यस घटनाले दुई देशबीच तनाव चरम सीमामा पुर्याएको छ।
आइतबार अमेरिकी सेनाले इरानको झण्डा बोकेको ‘एम/भी टुस्का’ नामक मालबाहक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको थियो। इरानले यस कार्यलाई “खतरनाक कदम” र “आक्रामकता” भनेको छ। इरानी सेनाका प्रवक्ताले आफ्नो जहाज कब्जा गरिएकोमा आक्रोश पोख्दै यसको विरुद्धमा “आवश्यक कदम” चाल्ने चेतावनी दिएका छन्।
यस घटनालाई लिएर चीनले पनि आफ्नो मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकाले जहाज नियन्त्रणमा लिएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले भने: “सम्बन्धित पक्षहरूले जिम्मेवार व्यवहार देखाउनुपर्छ। हर्मोज जलडमरू एक अन्तर्राष्ट्रिय समुद्री मार्ग हो र यहाँबाट जहाजहरू बिना अवरोध आउजाउ गर्न पाउनु सम्पूर्ण विश्वको हितमा छ।”
समाचार अनुसार, यो जहाज मलेसियाको क्लाङ बन्दरगाहबाट हिँडेको देखिए पनि त्योभन्दा अगाडि यो चीनको झुहाई शहरबाट प्रस्थान गरेको थियो।
प्रतिक्रिया