
अमेरिकी केन्द्रीय कमान्डले इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी सफलतापूर्वक कार्यान्वयन भइरहेको दाबी गरेको छ।
मध्यपूर्वको सुरक्षा हेर्ने अमेरिकी सेनाको यो इकाईका अनुसार नाकाबन्दी सुरु भएको पहिलो २४ घण्टाभित्र कुनै पनि जहाजले अमेरिकी अवरोध पार गर्न सकेका छैनन्।
यस अवधिमा ६ वटा व्यापारिक जहाजहरूले अमेरिकी सेनाको निर्देशन पालना गर्दै ओमानको खाडीतर्फ फर्किएर इरानी बन्दरगाहमै फिर्ता भएका छन्।
यद्यपि, अमेरिकी दाबीका बीच एउटा विवादास्पद घटना सार्वजनिक भएको छ। सोमबार नाकाबन्दी लागू भएपछि केही ट्याङ्करहरू बाटोबाटै फर्किए पनि ‘रिच स्टारी’ नामक ट्याङ्कर( तेल बाहक जहाज) भने अमेरिकी चेतावनीलाई चुनौती दिएको देखिएको छ।
एपिका अनुसार उक्त जहाजले मंगलबार बिहान आफ्नो मार्ग परिवर्तन गरी पुनः हर्मुज जलडमरूपार गरेको समाचार बाहिरिएको छ।
तेहरानसँग सम्बन्ध रहेको ठानिएको यस जहाजको पारवहनले अमेरिकी नाकाबन्दीको पूर्ण सफलतामाथि केही प्रश्न खडा गरेको छ।
अमेरिकाले आफ्नो निगरानीलाई थप कडा बनाएको बताएको छ भने इरानको प्रतिक्रियाले आगामी दिनमा यो संकट कुन दिशामा जान्छ भन्ने निर्धारण गर्नेछ।
प्रतिक्रिया