
चीनले इरानको हर्मुज जलसन्धिमा अमेरिकाले गरेको नाकाबन्दी वा घेराबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवार कार्य’ भनेर कडा आलोचना गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाको यो कदमले पहिले नै कमजोर रहेको युद्धविरामको अवस्थालाई थप बिगार्ने बताएका छन् ।
चिनियाँ प्रवक्ताका अनुसार सोमबारदेखि सुरु भएको यो नाकाबन्दीले त्यस क्षेत्रमा तनाव मात्र बढाउने छैन, बरु समुद्रमा जहाजहरू आवतजावत गर्ने सुरक्षामा समेत गम्भीर असर पुर्याउनेछ । हर्मुज जलसन्धि संसारकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थको व्यापार हुने गर्दछ । यस्तो ठाउँमा अवरोध सिर्जना हुनुले विश्वको व्यापार र शान्ति दुवैलाई खतरामा पार्ने चीनको भनाइ छ ।
चीनले सधैँ शान्तिपूर्ण वार्तामा जोड दिँदै आएको छ । प्रवक्ता गुओले भने “बेइजिङ (चीन) पूर्ण रूपमा युद्धविराम गरेर मात्र यस क्षेत्रको तनाव कम गर्न सकिन्छ भन्ने विश्वास गर्छ ।”
चीनले सबै पक्षहरूलाई पहिले भएका युद्धविरामका सम्झौताहरू पालना गर्न र आपसमा कुराकानी गरेर समस्या सुल्झाउन आग्रह गरेको छ ।
चीनले सबै देशहरूलाई समुद्री मार्गमा हुने आवतजावतलाई पहिलेकै अवस्थामा फर्काउन र क्षेत्रमा शान्ति कायम गर्न ठोस कदम चाल्न अनुरोध गरेको छ ।
प्रतिक्रिया