
अप्रिल १२, २०२६
कोलोराडो, अमेरीका
कोलोराडो निवासी नेपालीभाषी समुदायले लोकगायक धर्मेन्द्र सेवान को उपस्थितीमा एक भब्य शुभकामना सांस्कृतीक सांझ कार्यक्रमको आयोजनागरी नयांबर्ष २०८३ को शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

शनीवार सांझ नेपाली सास्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाका टोपी, गुन्यू चोली लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए ।

नेपाल र अमेरीकाको राष्ट्रिय गान गाएर सुरूगरिएको शुभकामना सांझको पहिलो सत्र कार्यक्रमका प्रमुख अतिथी एवं संस्थाका पुर्व अध्यक्ष बिनोद त्रीपाठी तथा कार्यक्रमका विशेष अतिथी द्धय टिका पौडेल, पदम विश्वकर्माले संयूक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्धाटन गरेका थिए भने, संस्थाका अध्यक्ष आकृती राइले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य सहित उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।

त्यसैगरी सोही कार्यक्रममा संस्थाका युथ कोर्डिनेटर बिष्णु बिबेक द्वारा लिखीत पुस्तक घाट गाउँ कार्यक्रमका प्रमुख अतिथी बिशेष अतिथीहरूले संयूक्त रूपमा बिमोचन गरेका थिए । यसरी बिमेचन गर्नेहरूमा बिनोद त्रीपाठी टिका पौडेल, पदम विश्वकर्मा, डा.विजयराज शर्मा, अर्जुन बगाले, आकृति राइ र लेखक बिबेक रहेका थिए । बिमोचित पुस्तकका बारेमा पदम विश्वकर्मा र अर्जुन बगालेले समिक्षा गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सांगितीक कार्यक्रम आयोजना गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । स्थानीय बाल कलाकारहरुले लोक , आधुनिक तथा देश भक्ति लगायतका बिभिन्न गीत संगितमा कम्बर मर्काई मर्काई नाचेको शुन्दर नृत्य हेरिरहदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो ।

कार्यक्रमका बिशेष अतिथी तथा लोकगायक धर्मेन्द्र सेवानले बिभिन्न चर्चित एक दर्जन भन्दा बढी गीत गाएर सहभागी दर्शकहरूलाई खुव नचाएका थिए । त्यसैगरी कार्यक्रममा गायीका संझना पाण्डे, रनिशराज मैनाली, गायक जयराम लामीछाने लगायतका कलाकारहरूले सुमधुर गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रममा सहभागी कलाकारहरू तथा कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न पार्न अर्थिक सहयोग प्रदान गर्ने दाताहरूलाइ सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष आकृति राइको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाको कल्चर सेक्रेटरी रेखा धौराली र संस्थाका युथ कोर्डिनेटर बिष्णु बिबेक द्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दी जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बुबाआमा दाजुभाइ, दिदीबहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई आत्मासात गर्दै नेपालीभाषी समुदायको परिचय झल्कने संस्कृति,भेषभुषा, खाना तथा मनोरन्जनात्मक क्रियाकलापहरुको निरन्तरता तथा नयाँ पुस्तामा नेपालीपन जीवित राख्न संस्थाले दशकौं देखि दशैंतिहार शुभकामना कार्यक्रम, नेपाल डे परेड, नेपाली नयाबर्ष शुभकामना आदानप्रदान,समर पिकनिक लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

पत्रकार/लेखक
प्रतिक्रिया