
साठी वर्षभन्दा पहिले नै कविता लेख्ने विनयराज गौतम आफूलाई यसरी पोख्दछन् –“… पढ्ने पढाउने क्रममा कुने बेला साहित्यसँग साइनो जुड्यो, थाहा छैन । यत्ति मात्र सम्झना छ, २०२२÷२३ सालतिर मैले कविता लेख्नु सुरु गरेको रहेछु । तर जीवनयात्रामा कुन बेला लेख्ने बानी अलि हराएर गयो, त्यो पनि भन्न गाह्रो । जीवनको उत्तराद्र्धमा साहित्यसिर्जनामा कुन बेला र कसरी रमाउन थालेँ, त्यो पनि भन्न नसकिने अवस्था रहेको छ । …” गौतमको यस अभिव्यक्तिभित्र कथात्मकताको जुन शैली छ, करिब यही शैलीमा लेख्छन् उनी कथाहरू । उनका कथाहरूको आरम्भ एक पात्रमा हुने र कथानक अगाडि बढ्दै जाँदा अधिकांशमा अर्कै परिवेश तथा पात्रको भूमिका मुख्य हुन जान्छ । गौतमका दुई कथा सङ्ग्रह प्रकाशित छन् – ‘मृत्युको छहारीमा’ र ‘रमरतिया’ । दुवै कथाकृतिको प्रकाशन ओरिएन्टल पब्लिकेसन, काठमाडौँबाट भएको हो । यहाँ चर्चा गरिन्छ ‘मृत्युको छहारीमा’को । २०८० मा प्रकाशित ‘मृत्युको छहारीमा’ कथाकृतिभित्र ज्यान जोगियो, गाउँको घडेरी, पञ्च भलादमी, सोमरिया, मृत्युबोध, विवशताको महल, अन्तिम उपाय, सुनरपतिया, मरछिया, मृत्युको छहारीमा र विदेशिएको छोरो गरी ११ कथा सङ्कलित छन् ।
बाराको भोंडहा, मटेरिया स्थायी घर भई पर्साको वीरगञ्जलाई थातवास बनाएका गौतम अखबारी लेखनका साथै निबन्ध, शिक्षासम्बन्धी विचार, संस्मरणादि लेख्दछन् । संस्मरण र कथामा पाठकलाई सिर्जनाको परिवेशमा भिजाउन सक्ने सामथ्र्य भएका गौतम आफ्ना सिर्जनामा सुरुदेखि अन्तिमसम्म पाठकलाई बाँध्न सफल छन् । परम्परागत शैलीका संस्मरण तथा कथा दुवैमा साहित्यकार गौतम सरल रैखिक शैलीमा आफ्ना अभिव्यक्ति दिन्छन् बोधगम्य । कम संवाद, सरल तथा पीडित पात्रहरूको चयन, वर्णनात्मक शैली, विवरणात्मक प्रस्तुति, गहन विषयको उठान, सामाजिक विषयवस्तुमाथि पकड, पारिवारिक कलह, विभेद र शोषणको यथार्थले गौतमका कथाहरू सजिएका छन् । मधेशी परिवेशको कुनै गाउँका यथार्थ घटनाजस्तै लाग्ने कथानक, पात्र, परिवेश तथा संवादले कथाकार गौतममा रहेको आञ्चलिक अभिव्यक्ति दक्षतालाई प्रमाणित गर्दछ भने कथानकको आडमा संस्कृतिरूपी सामाजिक संस्कृतिलाई पनि यथोचित् महत्त्व दिन्छन् ।
‘मृत्युको छहारीमा’ सङ्कलित पहिलो कथा हो – ‘ज्यान जोगियो’ । आत्मसंस्मरणात्मक शैलीमा लेखिएको यस कथामा म पात्रले एक रात भोग्नु परेको कहालीलाग्दो अवस्थाको वर्णन छ । पहिले बाटो कुरेर बस्ने गरेको डाँकुहरू र त्यसबाट बटुवाहरूले पाउने पीडाको प्रस्तुति रहेको छ । म पात्रले आफूसित भएको पैसा जति डाँकुलाई बुझाएपछि ज्यान जोगिएको बताइएको छ । ‘गाउँको घडेरी’मा पारिवारिक झमेलाको वर्णन छ । यो निकै कमजोर कथा हो । ‘पञ्च भलादमी’ कथाको आरम्भमा प्रसिद्ध कथाकार प्रेमचन्दको एउटा कथाको झल्को दिन्छ तर कथानक नितान्त भिन्न छ । घरझगडामा गाउँका पञ्च भलादमीहरूको प्रवेश भएपछि हुने चलखेलले पारिवारिक विखण्डन र विग्रहका साथै सम्पत्तिको नाश हुने बुझेका पात्रहरू छन् जो एकापसमा मिल्न पुग्छन् । सतही कथा भए पनि सकारात्मकताको भाव प्रवाहमा सफल छ ।
‘सोमरिया’ ग्रामीण समुदायको विपन्न वर्गका आम युवाको कथा हो । यो कथा पढ्दा सुरुमा देवकोटाको मुनामदन खण्डकाव्यको कथानकको सम्झना हुन्छ तर सबै कुरा भिन्न छ । विपन्नता हटाउने, श्रीमतीलाई गहनाले सजाउने तथा सन्तानको भविष्य सपार्ने सपना लिएर श्रीमान् पञ्जाब गएपछि सोमरियाले भोगेको चरम पीडादायी दिनचर्याको कहालीलाग्दो प्रस्तुति छ । बनमा अस्मिता जोगाउनुबाहेक कथाकारले सोमरियामाथि अलिकति पनि न्याय गर्न सकेका छैनन् । ‘मृत्युबोध’ कथामा प्रमुख पात्र ज्योतिषले आफ्नो मृत्युबारे भविष्यवाणी गर्दा आधुनिक विचारका सन्तानहरूलाई पत्यार लागेको हुँदैन । नवपुस्तालाई अविश्वास लाग्ने तर कथाकार पनि ज्योतिषी भावलाई मान्ने गरेको अनुमान हुन्छ । ‘विवशताको महल’ सकारात्मक भावको कथा हो । सन्तानहरूले वेवास्ता गर्न थालेपछि राजेन्द्र दम्पतीको सन्तानप्रतिको सम्पूर्ण मोह भङ्ग हुन्छ । सन्तानसितको मोह भङ्ग भएपछि आफ्नै गाउँठाउँमा आफैँले चर्चेको सम्पत्तिबाट वृद्धाश्रम बनाई बस्ने र अन्य वृद्धवृद्धासित दुःखसुख साटेर जीवन व्यतीत गर्न थालेको कथा मार्मिक छ ।
जब कार्यालय प्रमुख र नियम विपरीत काम गराउन आउनेहरूको मिलोमतो हुन्छ तब त्यहाँ इमानदार कर्मचारीलाई अप्ठ्यारो हुन्छ । नियम र कानुनका साथै नैतिकताको परिपालन गर्ने कर्मचारीमाथि सेवाग्राही र हाकिमको दबाब बढ्दै गएपछि ‘अन्तिम उपाय’ सरुवाको माग हुन्छ । जहाँ गए पनि काम नै गर्ने हो भन्ने दरिलो मनोविज्ञान भएपछि मानसिक दबाब कम हुन्छ प्रमोदको । अर्को मार्मिक कथा हो – ‘सुनरपतिया’ । अस्पतालमा अद्र्धविक्षिप्तावस्थामा फेला परेकी सुनरपतियाको कथा उनको गाउँमा गएपछि थाहा भएको हो चन्देश्वरलाई । चन्देश्वरमार्फत सुनरपतियाको विगत कहिएको छ । सुनरपतिया, तिनका मातापितासमेतको चरम शोषणको दस्तावेज छ यो कथा । गरिबी र अज्ञानताको फाइदा ग्रामीण समाजमा कसरी उठाइन्छ, भन्ने कुरा यसमा बताइएको छ । ‘मरछिया’ चाहिँ सामाजिक कथा हो । गढीमाईको किरपाले जन्मेको मानिएकी मरछियाको विवाह बाल्यकालमै भएको हुन्छ र विवाहको अर्थ थाहा नपाउँदै श्रीमान्को मृत्यु । गाउँ (माइती)मा सबैले हेलाँ र अपमान गर्न थालेपछि आत्महत्या गर्न लागेकी मरछियालाई आमाबुवाले सम्झाउँछन् । नातेदार शिक्षक भाइले मरछियाका सासुससुरासित गढीमाईमा भेट गराउँछन् । अन्तमा सासुससुराले एक शिक्षकसित सबैको उपस्थितिमा विवाह गराउँछन् मरछियाको । सुखान्तमा टुङ्गिएको यो कथा जति लामो छ, त्यत्ति नै कुतूहलपूर्ण र मार्मिक पनि ।
शीर्ष कथा हो – ‘मृत्युको छहारीमा’ । यस कथामा कुनै एक समयको कहालीलाग्दो अवस्थाको चित्रण गरिएको छ । बारा सदरमुकामबाट बाहिर निस्कन पनि नसकिने, हातहतियारको बिगबिगी रहेको तथा कतिपय मानिसलाई रेकी गरी राखिएको अवस्थाको वर्णन छ । मुख्य पात्र स्रोतव्यक्ति भएको र एक हप्ताभित्र पचासभन्दा बढी विद्यालयको प्रतिवेदन तत्कालीन शिक्षा कार्यालयमा बुझाउनै पर्ने तथा फिल्डमा गएर काम गर्ने परिस्थिति नभएको अवस्थाबिच चरम द्वन्द्व रहेको छ । मुख्य पात्र हतियारको छाँयामा बडो त्रासका बिच बल्लतल्ल आफ्नो वासस्थानमा आइपुगेको छ । इतिहासको एक कालखण्डको त्रासदीपूर्ण अवस्थामा कर्मचारीले गर्नुपरेको त्रास तथा मानसिक दबाबको यस कथाले सफल चिरफार गरेको छ ।
कृतिको अन्तिम कथा हो – ‘विदेशिएको छोरो’ । निकै आशा गरेर, संघर्ष गरेर रमा र रामलाल दम्पतीले छोरालाई विदेश पठाउँछन् अध्ययनको लागि । क्यानाडामा पढाइ गर्दागर्दै काम सुरु गरेको छोरो त्यहीँ कसैलाई मन पराउँछन् । घरमा आउन नमान्ने उसले आफूले उतै बिहे गर्ने कुरो बताएपछि आमा र बुवा छाँगोबाट खसेजस्तै हुन्छन् । छोरोको यो भनाइले आमाबुवाको मोहभङ्ग हुन्छ – “हजुरहरूको सपना पूरा गर्नका लागि के म आफ्नो सपना भताभुङ्ग गरिहालूँ ?” दुवैजनालाई लाग्छ – छोरो साँच्चिकै सबै दृष्टिकोणले विदेशिएको रहेछ ।
कथाकार गौतमका कथाहरूको कथानक निकै बलियो हुन्छ । प्रायः कथाहरूमा कथानकको विस्तार हुन्छ । सरल तथा व्याकरणसम्मत भाषाको प्रयोग हुन्छ । कथाकार गौतम पात्र र परिवेशलाई विश्वसनीय बनाउन स्थानीय कथ्य भाषा र शब्दको प्रयोग गर्न रुचाउँछन् । पात्रको व्यक्तित्वको चित्रण कथाकारले नै गर्दछन् । परिवेशको वर्णन पनि कथाकारले गरेका हुन्छन् । कथानक अगाडि बढ्दै जाँदा पात्रहरू थपिँदै जान्छन् । सामान्यतया सरल रैखिक शैलीमा गौतमका कथाहरू हुन्छन् । पूर्वदीप्तिको कमै उपयोग गर्ने कथाकार गौतममा ग्रामीण जीवनको मोह र विकृति–विसङ्गितप्रति विद्रोह पाइन्छ । महिलाका पात्रको पीडा चित्रण र मार्मिक बनाउनमा कथाकार सफल छन् । छोरालाई विदेश पठाउनमा कथाकार असहमत छन् किनभने जुन कथामा यस्तो पात्रको प्रयोग गरेका छन्, त्यसमा आमाबुवाले दुःख पाउनु परेको छ । कथाकार गौतमको दार्शनिक पक्ष केही कमजोर रहेको छ । यस कथामा आभ्यासिक चरणका कथाहरू परेका जस्ता लाग्न सक्छ कतिपयलाई ।
समग्रमा गौतमको कथाकारितालाई सामाजिक कथाको दृष्टिकोणले उचित मूल्याङ्कन गर्न सकिन्छ । गौतममा कथाकारिताको सम्भावना रहेको छ । उनी आजभन्दा करिब पाँच दशक पहिलेको समाजलाई चिनाउन अझ बढी सफल छन् कथामा ।

पत्रकार/लेखक
प्रतिक्रिया