रुसी आक्रमण रोक्न अमेरिकाको प्रत्याभूति : जेलेन्स्की र ट्रम्पबीच द्विपक्षीय सुरक्षा दस्ताबेज टुङ्गिँदै

इनेप्लिज २०८२ पुष २४ गते १७:५२ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार कीभ र वासिङ्टनबीचको द्विपक्षीय सुरक्षा प्रक्याभूतिको मस्यौदा “मुलतः तयार” भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसलाई अन्तिम रूप दिइने बताएका छन्। 

युद्धपछिको कुनै पनि स्थायी समाधानको मुख्य आधारको रूपमा युक्रेनले अमेरिका र अन्य पश्चिमी सहयोगी राष्ट्रहरूबाट बलियो सुरक्षा प्रतिबद्धता खोजिरहेको छ, जसले भविष्यमा रुसले पुनः आक्रमण गरेमा सहयोगको सुनिश्चितता गरोस्।

यस हप्ता पेरिसमा युक्रेनी र अमेरिकी प्रतिनिधिहरूका साथै सहयोगी राष्ट्रहरूको गठबन्धनले शान्ति रूपरेखामा रहेका बाँकी असहमतिहरू सुल्झाउन वार्ता गरिरहेका छन्। 

वासिङ्टनले रुससमक्ष प्रस्ताव राख्नुअघि युक्रेनसँगको यो सहमतिलाई पूर्णता दिन चाहेको छ। मंगलबार मात्रै अमेरिकाले पहिलो पटक युक्रेनलाई सुरक्षा प्रत्याभूति (ग्यारेन्टी )दिने अवधारणाको समर्थन गरेको थियो।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ‘X’ मा लेख्दै भनेका छन्, “युक्रेनको सुरक्षा प्रत्याभुति (ग्यारेन्टी )सम्बन्धी द्विपक्षीय दस्ताबेज अब राष्ट्रपति ट्रम्पसँग उच्च स्तरमा अन्तिम रूप दिनका लागि तयार छ।” 

उनले बुधबार पेरिसमा भएका बैठकहरूमा झन्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा रहेका “जटिल मुद्दाहरू” मा छलफल भएको र कीभले आफ्ना समाधानका विकल्पहरू प्रस्तुत गरेको जानकारी दिए।

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा लगातार क्षेप्यास्त्र( मिसाइल )आक्रमण गरिरहेका बेला जेलेन्स्कीले मस्कोमाथि थप दबाब सिर्जना गर्न आह्वान गरेका छन्। 

उनले भविष्यको सुरक्षा प्रत्याभुति(ग्यारेन्टी)को विश्वसनीयता अहिलेको रुसी प्रहारको कडा जवाफ दिएर प्रमाणित गरिनुपर्ने तर्क समेत गरे।

प्रतिक्रिया