
पुष्पा खनाल
केही नबुझ्नु शुन्य हो । र, सबै बुझ्नु पनि शुन्य हो । शुन्यबाटै तय हुन्छ शान्तिको यात्रा । यो शुन्यको खोजी अथाह रहेछ । शुन्यमाथिको बहसले शताब्दि लिन सक्छ । केही नबुझेर शुन्यमा झरेपछि बाटो टुङ्गिएको हो या शुरु भएको हो ? पाइला उठेर पनि अघि बढ्न नसक्नुको अवस्थामा तपाईँ के गर्नुहुन्छ ? ठीक अहिले म पनि त्यही शुन्यमा छु ।
कहाँ २०औँ कृतिका सर्जक, स्थापित स्रष्टा लालगोपाल सुवेदी अनि भर्खर पाइला चाल्दै गरेकी साहित्यकी विद्यार्थी म । गुरू समान व्यक्तित्वको कृति पढेर त्यसलाई उधिन्नु मेरो साहसले नथेग्ने काम हो । हुलाकमार्फत मेरै आँगनमा कृति झारेर त्यही काम लगाउनुभयो उहाँले । न नाईँ भन्नू; न हुन्छ भन्नू ! नाईँ भनेर कसरी नकार्नू; हुन्छ भनेर नसक्ने काम कसरी सकार्नू ! यो दोधारले धेरै खायो मेरो मुटु- कुटुकुटु ।
कृति हात लागेको केही समयसम्म पढ्ने साहस पनि गर्न सकिनँ । किनकी, कृति पढ्नुहुने धेरै अग्रजहरूले भन्नुभयो ‘यो कृति बुझ्न धेरै गाह्रो छ ।’ ‘मैले त पाँच पटक पढेपछिमात्र बुझेँ ।’ ‘मलाई पनि दोहर्याउन पर्यो’ आदि आदि । आधी सातो त्यसैले लियो; आधी सातो त ‘म सक्दिनँ’ भन्ने सोचले नै लगिसकेको थियो । त्यसैले पनि एक बसाई मेरा लागि काफी थिएन । पढ्न शुरू गरेँ अनि तर्सिएरै सकाएको हो एक सर्को । अद्योपान्त । अँह, न छेउ पस्यो न टुप्पो । दिमाग खोक्रिएछ भनेर दुई हप्ता आराम गरेँ । मस्तिष्क चल्यो बढी सायद । नबुझिने कुरालाई किन फेरि खोतलेर टाउको दुखाउनू ? यस्तै सोचाई आयो । दुई हप्तापछि मस्तिष्कलाई कतै थन्क्याएर मनमा ओर्लिएँ र सोधेँ-के हो चेतनप्रवाह ? मनले भन्योः अहिले तिमीभित्र जे चलिरहेको छ त्यही हो चेतनप्रवाह । हो यहीँबाट उठेर मैले पुनः समाएँ चेतनप्रवाह र गाउन थालेँ सा रे ग म प । म अहिले यात्रामा छु चेतनप्रवाहको ।
हिमालका गीत, विरका गाथा, पुर्खाका कथा
बुद्धको ज्ञान, हावाको गति, दुःख र व्यथा
पहराको जल, आफ्नै मनको छल, सपना कतिपय
खेतका गरा, बाँझो बल, आफैँलाई उछिन्ने आशय
बोकेर दौडिँरहेछ कर्कस धूनहरू जसमा, हिमालका गीत सुनिँदोरहेछ । विरका गाथा उनिँदोरहेछ । पुर्खाका कथा पढिँदो रहेछ । बुद्धको ज्ञान बाडिँदोरहेछ । सपना कतिपय देखिँदोरहेछ । विपना कतिपय लुछिँदोरहेछ । हावाको गति बदलिँदोरहेछ । हार्नेको नि इतिहास लेखिँदोरहेछ । जित्नेको दुर्गति देखिँदोरहेछ ।
चेतवप्रवाहमा …..
नसोचेरै बग्दोरहेछ काली । नरोपेरै झुल्दोरहेछ बाली । नछोपेरै फुल्दोरहेछ डाली । नठोकेरै बज्दोरहेछ ताली ।
झरनाको झङ्कार, प्रकृतिको पुकार, नियतिको उपकार, भाग्यको तिरस्कार
तराइका फाँटमा फैलिँदोरहेछ ।
आमाका आँशुमा मैलिँदोरहेछ ।
मालीका हातमा वइलिँदोरहेछ ।
फलामको फालीमा चौइलिँदोरहेछ ।
देखेका सपना, सोचेका विपना, गरेका कल्पना
भूकम्पले भत्काउँदोरहेछ ।
पहिरोले अड्काउँदोरहेछ ।
नियतिले चड्काउँदोरहेछ ।
प्रारव्धले पड्काउँदोरहेछ ।
तरपनि, जिन्दगीको सारेगमप कहिले जयमा, कहिले वयमा, कहिले भयमा, कहिले तयमा रेटिँदोरहेछ सारङ्गीझैँ ।
बोकेर रौद्र रूप, ओडेर प्रचण्ड धुप, छोडेर आफ्नो स्वरूप फर्किँदोरहेछ लयमा ।
ब्युँतदोरहेछ इतिहास
खोसिँदोरहेछ वर्तमान
छरिँदोरहेछ आस्था
हरिँदोरहेछ व्यवस्था ।
बग्दोरहेछ नदी बनेर
मेटिँदोरहेछ समुद्र बनेर
भेटिँदोरहेछ चित्र बनेर
ठग्दोरहेछ मित्र बनेर ।
उखानहरूमा ठोक्किएर, पिँडालु जिन्दगी कोक्किएर, समुद्री आँधीझैँ झोँक्किएर
सुकेको रूखझैँ मक्किएर, उडेको खरानीझैँ सक्किएर, स्यालसँग कुखुराझैँ छक्किएर
थोपा थोपामा फन्किँदोरहेछ जिन्दगी
पोका पोकामा थन्किँदोरहेछ जिन्दगी ।
पुनश्चः म यात्री र याे यात्रा हो चेतनप्रवाहमा सारेगमप कृतिभित्रको, चिरफार नसम्झनुहोला । यात्रामा निस्केपछि कति परसम्म पुग्न सकिन्छ भन्ने कुरा तपाईँको निश्चयले मात्र तय नगर्दोरहेछ । यायावरको आँखाले देखेको संसार र उभित्रको ब्रह्मण्ड कत्रो छ भन्ने कुराले पनि माप्दोरहेछ ।
हार्दिक वधाई कविवर ! उत्कृष्ट कृतिका लागि।
पुष्पा खनाल
भर्जिनिया, अमेरिका ।
प्रतिक्रिया