
अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवले बुधबार कब्जामा लिइएको एउटा व्यापारिक जहाजका चालक दललाई आवश्यक परेको खण्डमा “मुद्दा चलाउनका लागि संयुक्त राज्य अमेरिका ल्याइने” बताएका छन्।
यसका लागि “न्यायिक कब्जा आदेश”पहिल्यै देखि कार्यान्वयनमा रहेको उनले उल्लेख गरे।
यसअघि, अमेरिकी युरोपेली कमाण्डले बुधबार ‘बेला १’ नामक जहाजलाई “अमेरिकी प्रतिबन्धहरूको उल्लंघन” गरेको आरोपमा कब्जामा लिएको घोषणा गरेको थियो।
भेनेजुएलाको प्रतिबन्धित तेल बोक्ने जहाजहरूमाथि लगाइएको अमेरिकी नाकाबन्दीबाट बच्न खोजेपछि अमेरिकी तटरक्षक बलको एउटा जहाजले स्कटल्याण्ड र आइसल्याण्डको बीचमा पर्ने समुद्री क्षेत्रमा उक्त तेल वाहक जहाज(ट्याङ्कर)लाई लखेटेर नियन्त्रणमा लिएको थियो।
यसैबीच, ऊर्जा विभागद्वारा बुधबार प्रकाशित नीतिगत रूपरेखा अनुसार, ट्रम्प प्रशासनले विश्वव्यापी बजारमा भेनेजुएलाको तेल ढुवानी र बिक्रीलाई सहज बनाउन “छनौटपूर्ण” रूपमा केही प्रतिबन्धहरू हटाइरहेको छ।
एपिका अनुसार एकातिर प्रतिबन्ध उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गर्ने र अर्कोतिर बजार व्यवस्थापनका लागि केही खुकुलो नीति लिने अमेरिकाको यो दोहोरो रणनीतिले तेल बजारमा नयाँ तरंग पैदा गरेको छ।
प्रतिक्रिया