
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न अमेरिकाले गरेको सैन्य कारबाहीमा कम्तीमा २४ जना भेनेजुएलाका सुरक्षाकर्मी मारिएका छन्। एपीका अनुसार भेनेजुएलाको सेनाले सोमबार यो जानकारी दिँदै यस घटनामा मृत्यु हुनेको कुल सङ्ख्या ५६ पुगेको बताएको छ।
अमेरिकी रक्षा बिभाग ‘पेन्टागन’ का अनुसार शनिबार भेनेजुएलाको राजधानी कराकासमा भएको यस आक्रमणमा सात जना अमेरिकी सैनिक घाइते भएका छन्। उनीहरूलाई गोली र बमका टुक्राहरू लागेको थियो। घाइतेमध्ये पाँच जना निको भएर काममा फर्किसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ।
यस घटनामा भेनेजुएलाका २४ सुरक्षाकर्मीका साथै त्यहाँ कार्यरत ३२ जना क्युवाली सैनिक र प्रहरीको पनि मृत्यु भएको छ। क्युवा सरकारले आफ्ना सैनिकको मृत्यु भएपछि टापु राष्ट्र क्युवामा दुई दिनसम्म शोक मनाउने घोषणा गरेको छ।
समाचार संस्था एपीका अनुसार यस सैन्य आक्रमणमा केही सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ, तर अहिलेसम्म कति जना मारिए भन्ने स्पष्ट जानकारी नआएको एपीले बताएको छ ।
प्रतिक्रिया