भेनेजुएलाको राजधानीमा मध्यरातमा तनाव: सुरक्षा निकायबीचको ‘खटपट’ले निम्त्यायो गोलीबारी र त्रास

इनेप्लिज २०८२ पुष २२ गते १७:४९ मा प्रकाशित

भेनेजुएलाको राजधानी कराकसमा सोमबार साँझ देखिएको गोलाबारी र मार हान्ने हतियारको आक्रमण( एन्टी-एयरक्राफ्ट फायर)का दृश्यहरूले शहरमा त्रास फैलाएको छ। 

सिएनएनका अनुसार अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मदुरोको गिरफ्तारीपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका बेला यो घटना घटेको हो।

सीएनएनद्वारा प्रमाणित श्रव्यदृश्य( भिडियो)हरुमा कराकसको आकाशमा मार हान्ने उपकरणका  एन्टी-एयरक्राफ्ट फायर र अन्य ठाउँमा स्पष्ट रूपमा गोलीबारीको आवाज सुन्न सकिन्छ। रिपोर्टहरूका अनुसार राजधानीका विभिन्न सुरक्षा एकाइहरूबीच उत्पन्न ‘अस्पष्टता र अन्योल’ का कारण यो स्थिति सिर्जना भएको हो। 

राष्ट्रपति निवास ‘मिराफ्लोरेस प्यालेस’ नजिकै बस्ने एक स्थानीयले उर्दनेटा एभिन्यू क्षेत्रमा ठूलो गोलीबारी सुनेको बताएका छन्।

यद्यपि, भेनेजुएलाको सञ्चार मन्त्रालयले भने अनुमति बिना उडिरहेका मानवरहित यान ‘ड्रोन’ हरूलाई लक्षित गरी प्रहरीले गोली चलाएको दाबी गरेको छ। 

मन्त्रालयले देशमा कुनै भिडन्त नभएको र अवस्था पूर्ण रूपमा शान्त रहेको बताए पनि ती उपकरणहरु कसका थिए भन्ने खुलाएको छैन। 

यता ह्वाइट हाउसले स्थिति नियालिरहेको तर यसमा अमेरिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

सीएनएनले फेला पारेको सरकार निकट अर्धसैनिक समूह बीचको संवादले सुरक्षा निकायहरूबीचको अन्योललाई पुष्टि गर्छ। 

संवादमा सुरुमा एक सदस्यले दरबार नजिकै भिडन्त भएको भन्दै थप सहयोग मागेका थिए, तर पछि अर्का सदस्यले त्यसलाई ‘गलत बुझाइ’ को संज्ञा दिँदै स्थिति नियन्त्रणमा आएको बताएका थिए। 

घटनाको मुख्य कारण सुरक्षाकर्मीहरूले नै मानव रहित यान (ड्रोन)माथी गोली चलाउनु र त्यसलाई अन्य समूहले आक्रमण ठानेर जवाफी आक्रमण खोल्नु रहेको देखिन्छ।

प्रतिक्रिया