राष्ट्रपति ट्रम्पको कडा चेतावनी: अब कोलम्बियाका राष्ट्रपति पनि निशानामा

इनेप्लिज २०८२ पुष २१ गते ११:१३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोविरुद्ध गरिएको अमेरिकी कारबाहीलाई संसारका अन्य देशका लागि चेतावनी भएको भन्दै आफ्ना धम्कीहरू अझ कडा बनाएका छन्। उनले संकेत गर्दै भने अब कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो पनि अमेरिकाको निशानामा पर्न सक्छन्।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कोलम्बियाबारे कडा आरोप लगाए। उनले भने, “कोलम्बिया पनि धेरै बिरामी अवस्थामा छ। त्यहाँ एक बिरामी मानिसले शासन गरिरहेको छ, जसले कोकिन बनाउने र अमेरिकामा बेच्ने काम मन पराउँछन् । त्यो धेरै दिन टिक्ने छैन।”

यसको जवाफमा राष्ट्रपति पेट्रोले कडा प्रतिक्रिया दिएका छन्। उनले भने, “म ट्रम्पले बिना जानकारी बोलेको गहिरो रूपमा अस्वीकार गर्छु। ५० वर्षको लागुऔषध तस्करीसम्बन्धी कुनै पनि कानुनी फाइलमा मेरो नाम छैन।” उनले थपे म “माथि झुटो आरोप नलगाउनुहोस्, राष्ट्रपति ट्रम्प। यसरी ल्याटिन अमेरिकी राष्ट्रपतिलाई धम्की दिइँदैन।”

त्यसपछि पत्रकारहरूले क्युबाबारे पनि प्रश्न गरे। राष्ट्रपति ट्रम्पले भने, क्युबा भेनेजुएलाको सहयोगकै कारण टिकेको थियो, तर अब त्यो सहयोग बन्द भएको छ। उनका अनुसार भेनेजुएलाको तेलबाट आउने आम्दानी बन्द भएपछि क्युबा कमजोर बनेको छ।

“क्युबा अब ढल्नै लागेजस्तो देखिन्छ,” राष्ट्रपति ट्रम्पले भने। उनले धेरै क्युबालीहरू मदुरोलाई जोगाउन खोज्दा मारिएको दाबी पनि गरे। अन्त्यमा उनले क्युबाविरुद्ध नयाँ कारबाही आवश्यक नदेखिएको बताए, किनकि “क्युबा आफैं तल जाँदैछ।”

प्रतिक्रिया