“न्यूयोर्क स्वस्थानी महोत्सव-२०२६ कलश यात्रा सहित भब्य रुपमा शुभारम्भ“

इनेप्लिज २०८२ पुष २० गते २३:३५ मा प्रकाशित

नेपाली–अमेरिकन विभिन्न संघ–संस्था तथा मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाज (RNS) द्वारा न्यूयोर्क स्थित एकमात्र नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा सामुदायिक एवं सांस्कृतिक केन्द्रमा आयोजित श्रीस्वस्थानी व्रतकथा – न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ को पहिलो दिनको कार्यक्रम जनवरी ३, २०२६ का दिन नेपाली महावाणिज्यदूत श्री दधिराम भण्डारीज्यू को प्रमुख आतिथ्यमा भव्य, शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो। स्वस्थानी व्रतकथाको पहिलो दिन न्यूयोर्क राज्यका कम्पट्रोलर थोमस पी. डिनापोली र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत श्री दधिराम भण्डारीले महोत्सवको संयुक्त रूपमा उद्घाटन गरे। कार्यक्रममा न्यूयोर्क राज्यकी एसेम्बली मेम्बर जेनिफर राजकुमार, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम संयोजक अमित प्रताप शाहले सञ्चालन गर्नुभएको उक्त उद्घाटन समारोहको सभापतित्व रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले गर्नुभएको थियो।

सामुदायिक एकताको साँस्कृतिक उत्सव को १०८ कलश यात्रा र नेपाली मौलिक बाजागाजासहित स्वस्थानी मातालाई मन्दिर प्रवेश गराउँदा बालबालिकादेखि वृद्धवृद्धासम्मको भक्तजनहरूको उत्साहजनक सहभागिता थियो।

कर्ता तथा श्रद्धालु भक्तजनहरूको सप्रेम दान, भेटी तथा सहयोगबाट पहिलो दिनमैं $३६,३०३ भएको जानकारी गराउन पाउँदा आयोजक समिति अत्यन्त हर्षित छ। यस पावन अवसरमा कर्ता बस्नु भएका तथा कर्ता नबसी प्रेम पूर्वक दान गर्नु भएका सम्पूर्ण श्रद्धालु भक्तजनहरू प्रति आयोजक समिति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ ।

उहाँ(यजमान) हरूले उपस्थित सम्पूर्ण भक्तजनहरूलाई प्रसाद ग्रहण गराउनुका साथै दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक भवनको पुनर्निर्माण (DTNCC) तथा दीगो सञ्चालन अभियानका लागि यस पवित्र अनुष्ठानमार्फत अमूल्य योगदान प्रदान गर्नुभएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक धार्मिक परम्पराको संरक्षण, सामुदायिक एकताको सुदृढीकरण एवं हम्रो मौलिक सस्कृतिलाई पुस्तान्तरण गर्नु हो । तसर्थ न्यूयोर्कमा स्थायी नेपाली मन्दिर, सामुदायिक र सांस्कृतिक केन्द्रको पुनर्निर्माण एवं दीगो सञ्चालन सुनिश्चित गर्नु हो।

यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन सहभागी महानुभावहरू, सम्पूर्णदाताहरू , भक्तजन, अतिथिगण, संघ–संस्था प्रतिनिधि, मिडिया पार्टनरहरू तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद गर्दछौं। पुनश्च:- निरन्तर समर्पण, मेहनत र सेवाभावका साथ कार्यक्रम व्यवस्थापनमा जुट्नु हुने आयोजक समिति, उप–समिति, मन्दिर व्यवस्थापन तथा सञ्चालन समिति, समन्वयकर्ता, स्वयंसेवकहरू तथा गुरुजनहरू प्रति विशेष आभार।

स्मरण रहोस $५०० भन्दा बढी दान गर्नु हुने दाताहरूलाई प्रमाणपत्र सहित सम्मान गरिनेछ । सबै दाताहरूको नाम दुर्गा मन्दिर एवं नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको स्थायी दातृ सूचीमा समावेश गरिनेछ।

कर्ता बस्न समय नमिल्ने महानुभावहरूले पनि यस पवित्र अभियानमा दान गर्न सक्नु हुनेछ। एकै दिन धेरै जना कर्ता बस्न सकिने भएकाले इच्छुक भक्तजन तथा सहयोग गर्न चाहनु हुने दाताहरूले कार्यसमिति सदस्यहरू, महोत्सव आयोजक समितिका सदस्यहरू वा गुरुहरूसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

आउँदा दिनहरूमा पनि निरन्तर सहभागिता , सहयोग र समर्थन प्रदान गरी हाम्रो धर्म, संस्कृति र पहिचान जोगाउन सबैले साझा भूमिका निर्वाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।

प्रतिक्रिया