“मैले ८ वर्षदेखि यो दिन पर्खिरहेकी थिएँ”: भेनेजुएलामा दाइ मारिएकी बहिनी भक्कानिदै ट्रम्पलाई दिईन धन्यबाद

इनेप्लिज २०८२ पुष २० गते १७:२७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहरमा एउटा यस्तो दृश्य देखियो, जसले संसारभरका मानिसहरूको मन छोएको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ परेको खबर सुन्नेबित्तिकै त्यहाँ बसोबास गर्ने भेनेजुएलाका नागरिकहरू सडकमा निस्किएर खुसीयाली मनाउन थाले।

त्यही भीडमा एक महिला भक्कानिएर रोइरहेकी थिइन्। उनी खुसीले रोइरहेकी थिइन्। उनले रुँदै भनिन्, “मैले यो दिनको लागि धेरै वर्षदेखि प्रतीक्षा गरिरहेकी थिएँ।” ती महिलाका अनुसार आठ वर्षअघि भेनेजुएलामा मदुरोको शासनकालमा उनका दाजुको हत्या गरिएको थियो र भाइहरूलाई अपहरण गरिएको थियो।

न्यायको आशा मारिसकेकी उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै यो आफ्नो लागि “अतुलनीय खुसी” को क्षण भएको बताइन्।

निकोलस मदुरोको शासनकालमा भेनेजुएला संसारकै सबैभन्दा खतरनाक र गरिब देशमध्ये एक बन्यो। तथ्याङ्क अनुसार त्यहाँ ९० प्रतिशतभन्दा बढी मानिसहरू गरिबीमा बाँचिरहेका छन्।

त्यहाँको महँगी यति धेरै बढ्यो कि मानिसहरूले एक झोला पैसा लिएर जाँदा एउटा पाउरोटी पनि किन्न नसक्ने अवस्था आयो। भ्रष्टाचार र अपराधका कारण लाखौं मानिसहरू आफ्नो घर छोडेर विदेश पलायन हुन बाध्य भए।

जहाँ एकतिर पीडित परिवारहरूले मदुरोको गिरफ्तारीलाई न्याय मानिरहेका छन्, अर्कोतिर केही अमेरिकी राजनीतिज्ञहरूले भने यसको विरोध गरेका छन्। अमेरिकी सांसद इल्हान ओमारले भेनेजुएलाको यो खराब अवस्थाका लागि अमेरिकालाई नै दोष दिएकी छिन्।

उनले अमेरिकी प्रतिबन्धका कारण भेनेजुएलाका जनताले दुःख पाएको तर्क गरेकी छिन्। तर, मायामीका सडकमा खुसी मनाइरहेका मानिसहरूका लागि भने यो सबैभन्दा ठूलो ‘उपहार’ सावित भएको छ।

मादुरोको गिरफ्तारीले कतिपयलाई न्याय दिएको छ भने कतिपयले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भनेका छन्। महिला भावुक भएको श्रब्यदृश्य अहिले ४ करोडभन्दा बढी मानिसले हेरिसकेका छन्, जसले भेनेजुएलाका जनताले भोगेको पीडालाई संसारसामु छर्लङ्ग पारेको छ।

प्रतिक्रिया