
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पक्राउले अहिले अमेरिकाभित्रै पनि ठूलो विवाद निम्त्याएको छ। न्यूयोर्क शहरका नयाँ नगर प्रमुख मेयर जोहरान मम्दानी ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधै दूरवार्ता (फोन) गरेर यस पक्राउको कडा विरोध गरेका छन्।
मम्दानीले अनुसार कुनै अर्को देशको राष्ट्रपतिलाई यसरी सैन्य बल प्रयोग गरेर पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र “युद्ध अपराध” हो।
नगर प्रमुख मम्दानीले ट्रम्पसँगको कुराकानीमा आफू ‘सत्ता परिवर्तन’ गर्ने यस्ता कार्यको विरुद्धमा रहेको स्पष्ट पारेका छन्। उनले भने, “मैले राष्ट्रपतिलाई सिधै दूरवार्ता गरेर आफ्नो विरोध दर्ता गराएको छु।”
मम्दानीले पद सम्हालेको मात्र तीन दिन भएको बेला उनि यति ठूलो राजनीतिक मुद्दामा होमिएका हुन्। उनले मदुरो र उनकी पत्नीलाई पक्राउ गर्नुलाई संघीय र अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको रूपमा व्याख्या गरेका छन्।
मदुरोलाई पक्राउ गरेपछि अब उनलाई न्यूयोर्क ल्याइने तयारी भइरहेको छ। उनलाई न्यूयोर्ककै संघीय हिरासतमा राखेर लागूऔषध ओसारपसार र आतंकवादसँग सम्बन्धित पुराना मुद्दाहरूमा कारबाही चलाइने सम्भावना छ।
नगर प्रमुख मम्दानीले मदुरोको आगमनले न्यूयोर्कवासीको दैनिक जीवनमा कुनै बाधा नपुगोस् भनेर प्रहरी आयुक्त र अन्य अधिकारीहरूसँग छलफल गरिरहेको बताएका छन्।
यसअघि ट्रम्पले यो कारवाही अँध्यारो रातमा निकै सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका थिए। तर, न्यूयोर्क जस्तो प्रभावशाली शहरका नगर प्रमुखले नै यसको विरोध गरेपछि यो विषयले अहिले नयाँ मोड लिएको छ।
एकातिर भेनेजुएलाका नागरिकहरू खुसी मनाइरहेका छन् भने अर्कोतिर कानुन र प्रक्रिया मिचिएको भन्दै अमेरिकी नेताहरूबीच नै मतभेद सुरु भएको छ।
प्रतिक्रिया