
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरिएको सैन्य कारबाहीलाई “हेर्नै नसकिने गरी शक्तिशाली र अविश्वसनीय” भनेका छन्। शनिबार दिएको वक्तव्यमा ट्रम्पले यो हमला दोस्रो विश्वयुद्धपछि मानिसहरूले नदेखेको स्तरको सैन्य आक्रमण भएको दाबी गरे। “हिजो अमेरिका ले जे गर्यो, त्यो संसारको कुनै पनि देशले गर्न सक्दैन,” ट्रम्पले भने।
ट्रम्पका अनुसार, रातको अँध्यारोमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ पर्दा काराकास शहरका बत्तीहरू बन्द गरिएका थिए। उनले यसलाई अमेरिकी सेनाको “विशेष क्षमता र दक्षता” को परिणाम भने। “अँध्यारो थियो, र घातक थियो,” ट्रम्पको कडा टिप्पणी थियो।
उनले भेनेजुएलाको सम्पूर्ण सैन्य क्षमता छोटो समयमा निष्क्रिय बनाइएको दाबी पनि गरे।
यस कारवाहीमा अमेरिकी सेनासँगै एफबीआईको विशेष टोली ‘होस्टेज रेस्क्यु टिम ’*पनि सहभागी भएको सिएनएनले जनाएको छ। यो टोली उच्च जोखिम भएका पक्राउ, गोप्य कारवाही र निगरानीका लागि परिचित छ। ट्रम्पले केहीबेर अघियुएसएस आइवो जिमा युद्धपोतमा रहेका मादुरोको तस्बिर पनि सार्वजनिक गरे।
तस्बिरमा मदुरो खैरो रंगको खेलकुद पोशाक, आँखामा पट्टी, कानमा ठूला सुरक्षात्मक श्रवणउपकरण (हेडफोन) र घाँटीमा फ्लोटेशन डिभाइस अर्थात् पानीमा डुब्न नदिन लगाइने सुरक्षा उपकरणलगाएको अवस्थामा देखिन्छन्। उनी पानीको सिसी समातिरहेका छन्।

तस्बिरमा उनकी पत्नी सिलिया फ्लोरेस देखिँदैनन्, तर सीएनएनका अनुसार मदुरो दम्पतीलाई शयनकक्षबाट अमेरिकी विशेष बलले तानेर निकालेको हो।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरो पक्राउपछि भेनेजुएलालाई अस्थायी रूपमा अमेरिका नै चलाउने घोषणा गरेका छन्। फ्लोरिडाको मारोलागोबाट बोल्दै उनले भने, “सुरक्षित, सही र समझदारीपूर्ण सत्ता हस्तान्तरण नभएसम्म हामी देश चलाउनेछौं।” तर, उनले सत्ता हस्तान्तरण कति समय लाग्छ भन्ने स्पष्ट समयसीमा बताएनन्।
ट्रम्पसँगै भएको पत्रकार सम्मेलनमा पेन्टागन प्रमुख पीट हेगसेथ, विदेशसचिव मार्को रुबियो, सीआईए निर्देशक जोन र्याट्क्लिफ र ह्वाइट हाउस सल्लाहकार स्टेफन मिलर*पनि उपस्थित थिए।
यो घटनाले विश्व राजनीतिमा ठूलो तरंग ल्याएको छ र आगामी दिनमा ल्याटिन अमेरिकामा यसको असर गहिरो हुने देखिन्छ।
प्रतिक्रिया