मदुरो पक्राउ, अमेरिकी युद्धपोतमा न्यूयोर्कतर्फ, राष्ट्रपति ट्रम्पको दाबी

इनेप्लिज २०८२ पुष १९ गते १६:२३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चकित पार्ने दाबी गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी अमेरिकी युद्धपोत ‘आइवो जिमामा रहेको र न्यूयोर्क लगिँदै गरेको बताएका छन्।

फक्स न्यूजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले मादुरो पक्राउ परिसकेको र अब उनीहरूलाई अमेरिकामा कानुनी कारबाही सामना गराइने बताए।

राष्ट्रपति ट्रम्पका अनुसार, मदुरो पक्राउपछि भेनेजुएलाको भविष्य कसले चलाउने भन्ने विषयमा अमेरिका सक्रिय रूपमा संलग्न हुनेछ। “हामी अर्को व्यक्ति आएर उनले छाडेको अवस्थालाई झन् बिगार्ने जोखिम लिन सक्दैनौं,” ट्रम्पले भने। उनले अमेरिकाले भेनेजुएलाको शासन परिवर्तनमा ठूलो भूमिका खेल्ने स्पष्ट संकेत गरे।

यसै क्रममा ट्रम्पले मेक्सिको बारे पनि कडा टिप्पणी गरे। उनले मेक्सिकन राष्ट्रपति क्लाउडिया शाइनबाम राम्रो व्यक्ति भए पनि मेक्सिको लागू औषध गिरोहहरूले चलाइरहेको दाबी गरे। ट्रम्पले पटक–पटक मेक्सिकोमा लागूऔषध गिरोहविरुद्ध अमेरिकी कारबाही प्रस्ताव गरे पनि शाइनबामले अस्वीकार गरेको बताए। “मेक्सिकोमा केही त गर्नैपर्छ,” ट्रम्पको चेतावनी थियो।

अमेरिकी डेमोक्रेट सांसदहरूले कंग्रेसको अनुमति बिना गरिएको यो कारबाहीलाई अवैध र असंवैधानिक भनेपछि ट्रम्प आक्रामक बने।

उनले आलोचकहरूलाई “कमजोर र मूर्ख” भन्दै, महँगीका लागि आफ्ना राजनीतिक विरोधीहरूलाई दोष दिए। भेनेजुएलाको कारवाहलाई उनले “अत्यन्तै प्रतिभाशाली योजना” भने।

कारवाहीको क्रममा एक उदग्रबिमान (हेलिकोप्टर)मा क्षति पुगेको र केही अमेरिकी सैनिक घाइते भए पनि कोही पनि मारिएको छैनन् , ट्रम्प भने ।

तर, संयुक्त राष्ट्रसंघले भने यस घटनाप्रति गहिरो चिन्ताव्यक्त गरेको छ।

यूएनका प्रवक्ता स्टेफन दुजारिकले यसलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन र खतरनाक उदाहरण भनेका छन्। यूएनले भेनेजुएला, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी दिँदै मानव अधिकार र कानुनी शासनको सम्मान गर्न सबै पक्षलाई आह्वान गरेको छ।

प्रतिक्रिया