
विश्वका चर्चित अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले २०२६ को अमेरिकी मध्यावधि चुनावअघि रिपब्लिकन दललाई खुला समर्थन जनाएका छन्। नयाँ वर्षको दिन सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफूले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा उभिने संकेत दिएका हुन्।
मस्कले लेखे, “यदि कट्टर वामपन्थीले जिते भने अमेरिका समाप्त हुन्छ।” उनले थपे, “उनीहरूले अवैध आप्रवासन र ठगीका लागि ढोका खुला गरिदिनेछन्। त्यसपछि त्यो अमेरिका रहने छैन।”
मस्कको यो अभिव्यक्ति राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको हालैको मतभेदपछि आएको हो। यद्यपि मतभेद भए पनि मस्कले रिपब्लिकनहरूलाई समर्थन गरेर राष्ट्रपति ट्रम्पलाई फेरि राजनीतिक नियन्त्रण फिर्ता दिलाउन सहयोग गर्ने संकेत गरेका छन्।
उनले एक रूढीवादी प्रभावशाली व्यक्तिको सामाजिक सञ्जाल प्रकाशनमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। मस्क नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकनलाई आर्थिक रूपमा पूर्ण समर्थन गर्न तयार छन् भन्ने दाबी गरिएको छ ।
सन् २०२५ को सुरुमा मस्कले सरकारी दक्षता विभागको नेतृत्व गरेका थिए, तर बजेट र कर्मचारी कटौतीको विषयमा विवाद भएपछि उनले मे २०२५ मा उक्त पद छोडेका थिए।
२०२५ को जुलाईमा ट्रम्पसँगको मनमुटावका कारण मस्कले ‘अमेरिका पार्टी’ नामक छुट्टै राजनीतिक दल खोल्ने र ट्रम्पलाई साथ दिने रिपब्लिकनहरू विरुद्ध उत्रिने धम्की समेत दिएका थिए।
सन् २०२५ को अन्त्यतिर यी दुई प्रभावशाली व्यक्तित्वबीचको सम्बन्धमा सुधार आएको देखिन्छ । केही महिना अगाडी व्हाइट हाउसमा मस्कलाई समेत बोलाएका थिए ।
प्रतिक्रिया