अमेरिकाको रोड आइल्याण्डमा नयाँ वर्षको दिन बरफ पोखरीमा फसेको कुकुरको दमकलकर्मीद्वारा साहसिक उद्धार

इनेप्लिज २०८२ पुष १९ गते २:३३ मा प्रकाशित

अमेरिकामा नयाँ वर्षको दिन रोड आइल्याण्ड राज्यमा आफ्ना मालिकसँग घुम्न निस्किएको पहेँलो ल्याब्राडोर कुकुर ‘फिनिक्स’ पोखरीमाथि जमेको पातलो बरफमा पुगेपछि अचानक बरफ फुटेर चिसो पानीमा खस्यो।

अत्यन्त चिसो र हिउँले भरिएको पानीमा फसेपछि फिनिक्स किनारासम्म आउन सकेन र ज्यानको जोखिममा पर्‍यो।

घटनाको जानकारी पाएपछि मिस्क्वामिकट दमकल विभागका स्वयंसेवक दमकलकर्मीहरू र अन्य आपतकालीन टोली तुरुन्त घटनास्थल पुगे। उनीहरूले पोखरीको बीचमा कुकुर संघर्ष गरिरहेको देखे। अवस्था निकै जोखिमपूर्ण थियो।

त्यसपछि मिस्क्वामिकट र वाच हिल दमकल विभागका सदस्यहरूले विशेष बरफ उद्धार पोसाक लगाएर पोखरीभित्र पसे।

त्यो बिहान तापक्रम करिब २६ डिग्री फारेनहाइट थियो भने चिसो हावाका कारण १४ डिग्री जस्तो महसुस भइरहेको थियो। यस्तो कठोर मौसममा पनि दमकलकर्मीहरूले साहस देखाउँदै फिनिक्सलाई सुरक्षित रूपमा बाहिर निकाले।

मिस्क्वामिकट दमकल विभागका उप–प्रमुख स्टिभ होवार्डले भने, “मैले जीवनमा यति चिसो कुकुर कहिले देखेको थिइनँ। कुकुरले कुनै आवाजसमेत गरेन, धेरै शान्त थियो।”

उद्धारपछि दमकलकर्मीहरूको स्वास्थ्य जाँच गरियो तर कसैलाई उपचार आवश्यक परेन। फिनिक्सलाई पनि कुनै चोट नलागेको पुष्टि भयो। नयाँ वर्ष २०२६ को रात उसलाई थप खाना खुवाइयो र आराम गर्न दिइयो।

दमकल विभागले यो घटनालाई “२०२६ को पहिलो सफल उद्धार” भनेको छ । विभागले सबैलाई चेतावनी दिदै भन्यो ,पानीमाथिको कुनै पनि बरफ सुरक्षित हुँदैन, ज्यान जोखिममा नपार्नुस्।

प्रतिक्रिया