काठमाडौमा अद्भुत स्मरण शक्ति : ५० शब्दलाई उल्टोबाट छिटो हिज्जे गरेर कृष्ण पाण्डेयले इतिहास दोहोर्‍याउँदै

इनेप्लिज २०८२ पुष १९ गते १:३१ मा प्रकाशित

काठमाडौँको बागबजारस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)ले आगामी माघ ६ गते एक विशेष कार्यक्रमका बीच गिनिज वर्ल्ड रेकर्ड (बिश्व किर्तिमान )कायम गर्ने प्रयासको आयोजना गर्ने भएको छ।

पूर्व विश्व कीर्तिमानधारी तथा प्रख्यात स्मरणशक्ति खेलाडी कृष्ण पाण्डेयले ५० वटा शब्दहरूलाई उल्टोबाट सबैभन्दा छिटो हिज्जे गरेर नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छन् ।

यो ऐतिहासिक कार्यक्रम बागबजारस्थित काठमाडौँ मोडल सेकेन्डरी स्कुलको सभाकक्षमा सञ्चालन हुनेछ। एमआईटी कलेजले केएमएसएस सँगको सहकार्यमा आयोजना गर्न लागेको यस कार्यक्रममा ‘बेस्ट वेस्टर्न प्लस’ अतिथि सत्कार साझेदारको (हस्पिटालिटी पार्टनर)को रूपमा रहेको छ।

एमआईटीका सह-संस्थापक आर.के. दाहालका अनुसार, “यो कीर्तिमानको प्रयास गिनिज वर्ल्ड रेकर्डको कडा मापदण्ड र नियमभित्र रही शान्त वातावरणमा सम्पन्न गरिनेछ।” कार्यक्रमका लागि स्वतन्त्र साक्षी, आधिकारिक समय सूचक आधिकारिक प्रमाणीकरणका लागि व्यावसायिक छायाङ्कन(फोटोग्राफी) तथा श्रब्यदृश्य (भिडियो) छायाङ्कनको व्यवस्था गरिएको छ ताकि सबै प्रमाणहरू आधिकारिक रूपमा बुझाउन सकियोस्।

आयोजकका अनुसार यो पहलले नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने र युवाहरूमा अनुशासन र उत्कृष्टताको भावना भर्ने लक्ष्य राखेको छ। एमआईटीले अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि (आईटी) र व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको र यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई विश्वव्यापी अवसर दिन चाहेको बताएको छ।

आफ्नो तयारीबारे बोल्दै कृष्ण पाण्डेयले भने “न्यूयोर्कमा गिनिज वर्ल्ड रेकर्ड जितेपछिको अनुभव अविस्मरणीय थियो, तर आफ्नै मातृभूमि नेपालमा यो प्रयास गर्न पाउनु मेरो लागि गौरवको कुरा हो। यो केवल मेरो लागि कीर्तिमान मात्र होइन, नेपाली प्रतिभाले पनि विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश दिनु हो।”

कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाहरूबीच औपचारिक सम्झौता भइसकेको छ। माघ ६ गते हुने यस कार्यक्रममा कीर्तिमानको प्रयाससँगै संचारमाध्यम अन्तरक्रिया र साझेदारहरूको सम्मान कार्यक्रम पनि समावेश गरिएको छ।

प्रतिक्रिया