भेनेजुएला र अमेरिकाबीच बढ्दो तनाव: ५ अमेरिकी नागरिक पक्राउ

इनेप्लिज २०८२ पुष १८ गते ११:५७ मा प्रकाशित

अहिले अमेरिका र दक्षिण अमेरिकी देश भेनेजुएलाबीचको सम्बन्ध निकै बिग्रिएको छ। सिएनएनले बताए अनुसार पछिल्ला केही महिनाहरूमा भेनेजुएलाका सुरक्षा बलले कम्तीमा पाँच जना अमेरिकी नागरिकहरूलाई पक्राउ गरेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकालाई गलाउन वा आफ्नो स्वार्थ पूरा गर्न यी अमेरिकीहरूलाई बन्धक बनाएका हुन सक्छन्।

यसअघि अमेरिकाले भेनेजुएलाका तेल जहाजहरूमाथि रोक लगाएको थियो र केही सैन्य कारबाही पनि गरेको थियो। त्यसैको बदला लिन भेनेजुएलाले अमेरिकी नागरिकहरूलाई समातेको हुन सक्ने अनुमान गरिएको छ।

अमेरिकाले राष्ट्रपति मदुरोलाई “अवैध शासक” र “लागूऔषध कारोबारी” भएको आरोप लगाउँदै आएको छ। डिसेम्बर महिनामा अमेरिकाले मदुरोका परिवारका सदस्यहरूमाथि प्रतिबन्ध लगाउनुका साथै भेनेजुएलाको एउटा बन्दरगाहमा मानव रहित यान (ड्रोन) आक्रमण समेत गरेको थियो। अमेरिकी विदेश सचिव मार्को रुबियोले अहिलेको अवस्था अमेरिकाका लागि सह्य नभएको बताएका छन्।

अर्कोतर्फ, राष्ट्रपति मदुरोले भने आफ्नो देश सुरक्षित रहेको दाबी गरेका छन्। उनले भेनेजुएलाको सेना र प्रहरीले देशको शान्ति र सुरक्षाको प्रत्याभूती (ग्यारेन्टी)गरेको बताएका छन्।

भेनेजुएलामा सन् २०२४ को चुनावपछि धेरै मानिसहरूलाई राजनीतिक बन्दी बनाइएको छ। भर्खरै केही मानिसहरू कारागारबाट छुटेका छन्, तर तीमध्ये कोही पनि अमेरिकी नागरिक छैनन्।

प्रतिक्रिया