
राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर महिनामा वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टर(राष्ट्रिय सैनिक चिकित्सा केन्द्र)मा गरिएको आफ्नो स्वास्थ्य परीक्षणका क्रममा एमआरआइ होइन सिटि स्क्यान गरिएको स्पष्ट पारेका छन्।
द वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा उनले पछाडि फर्केर हेर्दा त्यो स्क्यान (एक्स -रे जाँच )गराउनु नै गल्ती भएको बताए।
“मैले स्क्यान(एक्स–रे) गराएको कारण मानिसहरूले केही गडबड छ कि भन्ने शंका गर्न थाले,” राष्ट्रपति ट्रम्पले भने, “तर वास्तवमा केही पनि गलत छैन।”
यसअघि अक्टोबरमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई आफूले एमआरआइ अर्थात् म्याग्नेटिक रेजोनेन्स इमेजिङ (चुम्बकीय अनुनाद चित्र) गराएको र नतिजा “एकदमै राम्रो” आएको बताएका थिए।

डिसेम्बरमा ह्वाइट हाउसले उनको मुटु र पेटसम्बन्धी स्वास्थ्य जाँचका लागि ‘एडभान्स्ड इमेजिङ’ अर्थात् शरीरभित्रको विस्तृत तस्बिर निकाल्ने स्वास्थ्य जाँच गरिएको जानकारी दिएको थियो।
तर पछि राष्ट्रपति ट्रम्पले त्यो सिटी स्क्यान भएको स्पष्ट गरे। उनका चिकित्सक नौसेना कप्तान सीन बार्बाबेलाले पनि सिबिएसन्यूजलाई दिएको वक्तव्यमा सिटि स्क्यान नै गरिएको पुष्टि गरे।
चिकित्सकका अनुसार, राष्ट्रपति अस्पतालमा सैनिक र कर्मचारीसँग भेट्न जाँदा समयको सदुपयोग गर्न नियमित स्वास्थ्य परीक्षण गरिएको थियो। सम्भावित मुटुसम्बन्धी समस्या छैन भन्ने पक्का गर्न सिटी स्क्यान (एक्स–रे प्रयोग गरेर विस्तृत तस्बिर बनाउने जाँच)गरिएको र नतिजा पूर्ण रूपमा सामान्य आएको थियो।
ह्वाइट हाउस छापा सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प इतिहासकै सबैभन्दा पारदर्शी राष्ट्रपति भएको दाबी गरिन्।
राष्ट्रपति ट्रम्पले आफूले २० वर्षभन्दा बढी समयदेखि लिँदै आएको दैनिक एस्पिरिनको मात्रा घटाउन नचाहेको पनि बताए। “म अलि अन्धविश्वासी छु,” उनले भने।
प्रतिक्रिया