
इरानमा अहिले महँगी र आर्थिक समस्याका कारण ब्यापक विरोध प्रदर्शन भइरहेको छ। यसै बीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उच्च सुरक्षा अधिकारीबीच एकअर्कालाई कडा धम्की दिने काम भएको छ।
गत जुन महिनामा अमेरिकाले इरानका केही आणविक केन्द्रहरूमा बम प्रहार गरेपछि यी दुई देशबीचको सम्बन्ध निकै खराब भएको थियो। अहिले इरानमा भइरहेको आन्दोलनले यो तनावलाई झन् बढाएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा यदि इरानले शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने मानिसहरूलाई मार्न खोज्यो भने अमेरिकाले उनीहरूको रक्षा गर्ने चेतावनी दिएका छन्। अहिलेसम्मको हिंसामा कम्तीमा ७ जनाको ज्यान गइसकेको छ। ट्रम्पले “हामी पूर्ण रूपमा तयार छौँ” भन्दै कडा सन्देश दिएका छन्।

अर्कोतर्फ, इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीले ट्रम्पको कुराको कडा जवाफ दिएका छन्। उनले बिना कुनै प्रमाण यो आन्दोलनको पछाडि अमेरिका र इजरायलको हात रहेको आरोप लगाएका छन्।
लारीजानीले चेतावनी दिँदै भनेका छन्, “यदि अमेरिकाले इरानको आन्तरिक मामिलामा दख्खल दियो भने यसले पूरै क्षेत्रमा अशान्ति फैलाउनेछ र अमेरिकी स्वार्थलाई ठुलो नोक्सान पुर्याउनेछ।” उनले अमेरिकी जनतालाई आफ्ना सैनिकहरूको ख्याल राख्न समेत भनेका छन्।
यो विवादले मध्यपूर्वमा ठुलो युद्धको खतरा निम्त्याउन सक्ने छ । इरानले यसअघि नै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरिसकेको हुनाले अहिलेको अवस्था निकै संवेदनशील रुपमा हेरिएको छ।
प्रतिक्रिया