
न्यूयोर्क शहरका नयाँ नगर प्रमुख (मेयर) जोहरान मम्दानीले पदभार ग्रहणपछि पहिलो ठूलो सार्वजनिक सम्बोधन गर्दै भनेका छन्, “आजबाट नयाँ युग सुरु भयो।”
उनले तल्लो म्यानह्यटनमा हजारौँ न्यूयोर्कवासीको उपस्थितिमा उनले यो ऐतिहासिक भाषण दिएका हुन्।

ध्वनिप्रसारक यन्त्र (माइक )समात्दै उनले भने, “मेरो प्रिय न्यूयोर्कवासीहरू, आज म यहाँ तपाईहरूले मलाई दिएको विश्वास र जिम्मेवारीले अत्यन्तै भावुक छु। यो पवित्र शपथ लिन पाउनु मेरो जीवनकै ठूलो सम्मान हो।” उनले आफू शहरका १११ औँ वा ११२औँ नगर प्रमुख हुन सक्ने बताए, किनकि इतिहासमा केही अन्योल रहेको छ।

उनले आफूलाई समर्थन गर्ने मात्र होइन, आफूविरुद्ध मत दिने नागरिकलाई पनि आफ्नो बराबरीको नगर प्रमुख ठान्ने बताए। “तपाईले मलाई मत दिनु भयो वा दिनु भएन, यदि तपाईं न्यूयोर्कवासी हुनुहुन्छ भने, म तपाईको नगर प्रमुख हुँ,” उनले स्पष्ट रूपमा भने।
उनले स्वीकार गर्दै भने कतिपय मानिसहरू राजनीतिप्रति निराश छन् र सरकारप्रति अविश्वास गर्छन्। तर उनले वाचा गरे, “म तपाईलाई जोगाउनेछु, तपाईको खुसीमा खुसी र दुःखमा दुःखी हुनेछु, र कहिल्यै तपाईहरूबाट लुक्ने छैन।”

चुनावका बेला जस्तै, मेयर बनेपछि पनि उनले अपेक्षा घटाउने सल्लाह अस्वीकार गरे। “म न्यूयोर्कवासीलाई कम आशा गर्न भन्न आएको होइन,” उनले भने। “हामी ठूलो सोच र साहसी कदमसहित शासन गर्नेछौँ। सफल नभए पनि प्रयास गर्न डराउने छैनौँ।”
मामदानीले प्रश्न उठाए, “न्यूयोर्क कसको हो?” र आफैँ उत्तर दिए, “न्यूयोर्क यहाँ बस्ने सबैको हो, धनी र शक्तिशालीको मात्र होइन।”
उनले भविष्यतर्फ हेर्दै भने, “हामीले गर्ने काम पाँचै बरोसम्म मात्र होइन, संसारभरि सुनिनेछ।”
वामपन्थी (बायाँ धारका) विचार राख्ने सरकार राम्रोसँग देश वा सहर चलाउन सक्छ कि सक्दैन भन्ने कुरा संसारले हेरिरहेको बताए।

नयाँ नगर प्रमुखले सुरक्षा, महँगाइ नियन्त्रण र समृद्धि आफ्नो सरकारका मुख्य लक्ष्य हुने बताए। उनले ठूला सरकारको युग सकियो भन्ने धारणा अस्वीकार गर्दै भने, “अब नगर कक्षले आफ्नो शक्ति प्रयोग गर्न हिच्किचाउने छैन।”
मम्दानीले आफू डेमोक्रेटिक सोसलिस्ट अर्थात् प्रजातान्त्रिक समाजवादीभएर निर्वाचित भएको र त्यही सिद्धान्तअनुसार शासन गर्ने स्पष्ट पारे। उनले धनीमाथि कर लगाएर सार्वभौमिक बालहेरचाह, निःशुल्क र छिटो बस सेवा, र श्रमिकको जीवन सजिलो बनाउने नीति लागू गर्ने वाचा गरे।
भाषणको अन्त्यमा उनले भने, “काम त अहिले मात्रै सुरु भएको हो।” नयाँ युगको सुरुवातसँगै न्यूयोर्कले फेरि आशा गर्न पाउने सन्देश उनले दिए।

प्रतिक्रिया