राष्ट्रपति ट्रम्पको नयाँ आप्रवासन आदेश लागू: ७ देशका नागरिकलाई अमेरिका प्रवेश रोक

इनेप्लिज २०८२ पुष १७ गते १२:४२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष २०२५ मा हस्ताक्षर गरेका नयाँ आप्रवासन तथा यात्रा प्रतिबन्ध जनवरी १ देखि लागू भएका छन्।

नयाँ नियमअनुसार बुर्किना फासो, लाओस, माली, नाइजर, सिएरा लियोन, दक्षिण सुडान र सिरियाका नागरिक अब अमेरिका यात्रा गर्न पाउने छैनन्। यो नियम आप्रवासी र गैर-आप्रवासी दुवैमा लागूहुने अमेरिकी सीमा सुरक्षा निकायले जनाएको छ।

ह्वाइट हाउसले यो निर्णय राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षाका कारण लिइएको बताएको छ। तर आप्रवासी अधिकारकर्मीहरूले भने यो प्रतिबन्ध अफ्रिकी र मुस्लिम बहुल देशहरूलाई लक्षित गरिएको आरोप लगाएका छन्।

एबिसीन्यूजका अनुसार यसअघि नै अफगानिस्तान, इरान, सोमालिया, यमन, सुडान, हाइटी, लिबिया लगायतका देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लागू थियो। साथै भेनेजुएला र क्युबा का नागरिकमाथि आंशिक प्रतिबन्ध पनि जारी छ।

यसैबीच, एच-१ बि प्रवेशाज्ञा (भिसा)मा पनि नयाँ नियम लागू भएको छ। यो प्रवेशाज्ञा विशेष सीप भएका विदेशी कामदारलाई अमेरिकी कम्पनीले रोजगारी दिन प्रयोग गर्छन्। पहिले यो प्रणाली चिठ्ठा (लटरी) जस्तै थियो, तर अब उच्च तलब पाउने र बढी सीप भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

अमेरिकी सरकारका अनुसार यसले अमेरिकी कामदारको सुरक्षा गर्नेछ। तर आप्रवासन वकिलहरू भन्छन्, यसले विदेशी विद्यार्थी र कम तलबमा काम गर्ने योग्य व्यक्तिका लागि अमेरिका बस्न झन् गाह्रो बनाउनेछ।

हाल एच-१ बि प्रवेशाज्ञाका लागि ८५,००० आवेदन मात्र स्वीकृत हुने व्यवस्था छ। नयाँ नीतिले अमेरिका आउने आप्रवासीको संख्या घट्ने अनुमान गरिएको छ।

तस्बिर : कृतिम बुद्धिमत्ता

प्रतिक्रिया